काठमाडौं । मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने भएको छ।
भन्सार विभागले नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तु चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्तालाई आन्तरिक परिवहन सुविधा दिने निर्णय गरेको हो।
भन्सार ऐन २०६४ को दफा ६४ तथा भन्सार नियमावली २०६४ को नियम ६२ को उपनियम ७ बमोजिम विभागले यस्तो व्यवस्था गरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार कोरला नाकाबाट आएका मालवाहक सवारीले नेचुङ, जोमसोम, बेनी, कुश्मा, पोखरा, दमौली, मुग्लिङ, कुरिनटार, नौबिसे र कलङ्की हुँदै चोभार पुग्नुपर्नेछ।
त्यस्तै, वैकल्पिक मार्गका रूपमा मुग्लिङ, नारायणघाट, हेटौंडा, भैँसे, नौबिसे र कलङ्की हुँदै चोभार पुग्ने सडकलाई पनि तोकिएको छ।
गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने मुग्लिङ, नारायणघाट, हेटौंडा, भैँसे हुँदै फर्पिङबाट चोभार पुग्ने मार्गसमेत प्रयोग गर्न सकिनेछ।
विभागले अर्को निर्णय नभएसम्मका लागि आन्तरिक परिवहन सुविधा लागू गरेको जनाएको छ। यसका लागि पैठारीकर्ताले भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि कोरला नाका नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको छ। चोभारमै जाँचपासको सुविधा उपलब्ध भएपछि कोरला हुँदै आउने सामानको भन्सार प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
