काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी उद्धार तथा राहत कार्यका लागि १० वटा हेलिकप्टर परिचालनमा राखेको छ । बाँकी हेलिकप्टरलाई भने नियमित पर्यटकीय तथा व्यावसायिक उडान सञ्चालन गर्न अनुमति दिएको छ ।
यसअघि भदौ १० गतेको विनाशकारी बाढीपछि सरकारले निजी क्षेत्रका सबै हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय समितिको मातहतमा राखेको थियो । ११ वटा कम्पनीका सञ्चालनमा रहेका १९ हेलिकप्टरलाई भने नियमित उडानमा प्रयोग गर्न दिइएको थियो ।
सरकारले विपद् प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत उद्धार तथा राहत सञ्चालन गर्ने र अन्य क्षेत्रमा उद्धारका लागि समेत सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।
भोटेकोशी बाढीपछि उद्धार तथा राहतको काम जारी रहे पनि अहिले सीमित हेलिकप्टरबाटै विपद् व्यवस्थापन गर्न सकिने अवस्था भएकाले बाँकी हेलिकप्टरलाई निजी वायुसेवा कम्पनीले नियमित रूपमा सञ्चालन गर्न पाउने भएका छन् ।
पर्यटकीय सिजन सुरु हुन लागेको र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भएकाले विपद् व्यवस्थापनमा आवश्यक नपर्ने हेलिकप्टरलाई नियमित उडानमा फर्काइएको वायुसेवा सञ्चालक संघका वरिष्ठ उपाध्यक्ष निमानुरु शेर्पाले बताए ।
उनका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक हेलिकप्टर परिचालनमै राखेर बाँकी हेलिकप्टरलाई नियमित पर्यटकीय सेवामा प्रयोग गर्न थालिएको हो ।
