काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको बाढीपछि प्राप्त सहयोग, उद्धार तथा राहतसम्बन्धी विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोसी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ।
अर्थ मन्त्रालयका अनुसार पोर्टलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहायता, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारका निर्णय एकै ठाउँमा उपलब्ध गराइएको छ।
पोर्टल नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। भदौ २४ गतेसम्म चेक तथा बैंक ट्रान्सफरमार्फत ३८९ वटा सहयोगबाट २ अर्ब १५ करोड २५ लाख ४२ हजार ३०९ रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।
एनसीएचएल र फोनपेमार्फत अनलाइन प्राप्त रकम तथा कोषको अमेरिकी डलर खातामा आएको वैदेशिक सहयोगसमेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको छ।
मन्त्रालयका अनुसार भदौ २४ गते बिहान ९ बजेसम्म कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। विभिन्न स्रोतबाट प्राप्त तथ्यांक फरकफरक मिति र समयमा आएकाले रकमको अन्तिम मिलान भने अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी रहेको जनाइएको छ।
पोर्टलमा अनलाइन, चेक तथा बैंक ट्रान्सफरमार्फत प्राप्त सहयोगको नामसहितको विवरण, कोषका बैंक खाताको अवस्था र अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगको विवरण राखिएको छ।
त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेका उद्धार तथा राहतसम्बन्धी विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्थासम्बन्धी जानकारी र राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिको विवरण पनि पोर्टलमा राखिएको छ।
अर्थ मन्त्रालयले पोर्टलमा राखिने तथ्यांक सम्बन्धित निकायका आधिकारिक कागजातसँग भिडाएर मात्र सार्वजनिक गरिने जनाएको छ। नयाँ आधिकारिक विवरण प्राप्त भएपछि पोर्टल नियमित रूपमा अद्यावधिक गरिने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक भुक्तानी पोर्टलमार्फत मात्र रकम पठाउन आग्रह गरेको छ। नगद वा जिन्सी सहयोग गर्न चाहनेले राहत संकलन एकद्वार प्रणालीका सम्बन्धित सम्पर्क व्यक्तिसँग समन्वय गर्न सक्ने जनाइएको छ। उद्धारसम्बन्धी अनुरोधका लागि छुट्टै अनलाइन प्रणालीसमेत सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
