एजेन्सी । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रिभोजमा चीनका राष्ट्रपति सी चिनपिङ सहभागी भएनन् ।
शनिबार साँझ मोदीले ब्रिक्समा सहभागी राष्ट्रका प्रमुख तथा प्रतिनिधिका लागि आयोजना गरेको गाला डिनरमा सी अनुपस्थित रहेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । सी रात्रिभोजमा सहभागी नभएको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
समाचारअनुसार एक स्रोतले सी आराम गर्न होटल फर्किएको जानकारी दिएको छ । सी शनिबार दिउँसो ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका थिए । उनले सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।
रात्रिभोजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ब्रिक्सका अन्य नेताहरू सहभागी थिए । भारतीय केन्द्रीय मन्त्रीहरू अमित शाह, निर्मला सीतारमण, पीयूष गोयल, अश्विनी वैष्णव र शिवराज सिंह चौहान पनि रात्रिभोजमा सहभागी भएका थिए ।
अबु धाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद पनि रात्रिभोजमा सहभागी भएनन् । उनी सम्मेलनमा सहभागी भएर सोही दिन स्वदेश फर्किएको बताइएको छ ।
सी र मोदीबीचको द्विपक्षीय भेटवार्तामा भने भारत–चीन सम्बन्धका महत्वपूर्ण विषयमा छलफल भएको थियो । दुवै नेताले दुई देशबीचका मतभेदलाई विवादमा परिणत हुन नदिनुपर्नेमा जोड दिएका छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले सम्बन्धलाई आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितका आधारमा अघि बढाउनुपर्ने बताएका थिए । सीमा विवादलाई निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य हुने गरी समाधान गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार सीले चीन र भारतलाई प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन् । उनले दुई देशले एकअर्कालाई खतरा नभई विकासका अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
सीले आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर र स्वस्थ रूपमा अघि बढाउन दुवै देशले एकअर्काका आर्थिक तथा व्यापारिक चासोलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
यसरी एकातर्फ मोदीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका सी रात्रिभोजमा भने अनुपस्थित भएपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न चासो उत्पन्न भएको छ । तर, उनको अनुपस्थितिको वास्तविक कारणबारे भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक भएको छैन।
