काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल बस्ती बसाल्न सम्भव नभएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले रसुवाको धुन्चे, स्याफ्रुबेंसी, टिमुरे र उत्तरगयाको बेत्रावती लगायतका क्षेत्रमा अहिले नै बस्ती बसाल्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकामा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री थापाका अनुसार बाढीमा परेर करिब सात हजार मानिस बेपत्ता छन् भने हालसम्म १,३९४ जनाको शव फेला परेको छ। बाढीले ६,५०० भन्दा बढी घर र बस्ती बगाउनुका साथै ४० भन्दा बढी पक्की तथा झोलुङ्गे पुल ध्वस्त बनाएको छ। कुल क्षति आठ खर्ब रुपैयाँभन्दा बढी भएको अनुमान गरिएको छ।
मुख्यमन्त्री थापाले विपत्तिको सामना गर्न तीनै तहका सरकार एकजुट भएर काम गरिरहेको बताए। उनले भने, ‘सुरुको अवस्थामा उद्धार र उपचारतर्फ हामी लाग्यौँ। त्यसपछि खाद्यान्नको व्यवस्थातर्फ लाग्यौँ। अब हामीले पुनर्स्थापना र पुनर्निर्माणतर्फ राज्य अगाडि बढ्दै छ।’
प्रदेश सरकारले पुनर्निर्माणका लागि आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाएको छ। बाढीलगत्तै रसुवा र नुवाकोटलाई एक-एक करोड तथा धादिङ र चितवनलाई ५०-५० लाख रुपैयाँ स्थानीय तह मार्फत खर्च हुने गरी विनियोजन गरिएको छ। साथै, प्रदेश सरकारले मृतकका परिवारलाई काजक्रिया खर्चबापत २५ हजार र राहतस्वरूप एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
