काठमाडौं। कञ्चनपुरबाट छुट्ने लामो दुरीका सार्वजनिक बस सेवा बन्द गरिएको छ।
भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवसायीहरूले आइतबारसम्मका लागि सेवा स्थगित गर्ने निर्णय गरेका हुन्।
यातायात व्यवसायी डम्बर पन्तका अनुसार महेन्द्रनगर र बेलौरीबाट छुट्ने लामो दुरीका बसहरू शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने छैनन्। व्यवसायीहरूले मौसममा सुधार नआएसम्म लामो दुरीका यातायातका साधनहरू नचलाउने जनाएका छन्।
यस निर्णयका कारण महेन्द्रनगर हुँदै काठमाडौं, पोखरा, प्युठान र सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जाने यात्रुहरू प्रभावित भएका छन्। यातायात व्यवसायीहरूले विपद्को समयमा अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
जिल्लामा शुक्रबारदेखि निरन्तर सामान्य वर्षा भइरहेको छ। यद्यपि, छोटो दुरीका बस सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहेको व्यवसायीहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म जिल्लाका नदी र खोलाहरूको जलस्तर सामान्य अवस्थामा नै रहेको छ।
