काठमाडौँ । काठमाडौँ उपत्यकामा आपूर्तिका लागि ल्याइँदै गरेका एक सय पाँच वटा एलपी ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै रोकिएका छन्।नेपाल आयल निगमका अनुसार भारतबाट ग्यास बोकेर आएका ती बुलेट चितवन, हेटौँडा र आसपासका क्षेत्रमा रोकिएका हुन्।निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ती बुलेटमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ।
उहाँले बाटो खुल्नासाथ ग्यास बुलेट उपत्यकामा भित्रिने भएकाले बजारमा देखिएको अभाव कम हुने बताउनुभएको छ।भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको र बरौनी, पारादीप तथा हल्दियालगायत स्थानबाट ग्यास बोकेका बुलेट चितवन र हेटौँडा आसपास आइपुगेको निगमले जनाएको छ।
कृष्णभीर र धादिङका विभिन्न स्थानमा गएको पहिरो पन्छाएर बाटो खुलेपछि ग्यास बुलेट उपत्यका भित्रिने निगमको भनाइ छ।निगमका अनुसार एउटा ग्यास बुलेटमा १८ देखि २० टन ग्यास हुन्छ, जसबाट करिब एक हजार दुई सय ५० वटा सिलिन्डर भर्न सकिन्छ।
बाटो खुलेपछि लगातार तीनदेखि चार दिनसम्म दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डर बजारमा पठाउन सकिने निगमले जनाएको छ। निगमका अनुसार आइतबार मात्रै १७ हजार सिलिन्डर बजारमा वितरण गरिएको थियो।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख १७ हजार एक सय ६८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ।
भन्सार विभागका अनुसार साउन र भदौमा १६ अर्ब २६ करोड रुपियाँ बराबरको ग्यास आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ९१ हजार नौ सय ६३ मेट्रिक टन ग्यास आयात भएको थियो।
गत वर्षको तुलनामा यस वर्ष पहिलो दुई महिनामा २६ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भए पनि सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा आपूर्ति प्रभावित भएको छ।
