काठमाडौँ । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा निकाल्ने विषयमा छलफल भइरहेको छ।
सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुलमा कुनै क्षति नपुग्ने गरी सावधानीपूर्वक क्रुज निकाल्ने तयारी भइरहेको हो। पिलरमा क्रुज अड्किएपछि जोखिम बढेकाले केही समय सतर्कता अपनाइएको थियो। हाल भने नारायणी पुलमा सवारीसाधनको आवतजावत पुनः सुचारु भइसकेको कार्यालयले जनाएको छ।
प्राविधिक टोलीले पुलको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै क्रुजलाई सुरक्षित स्थानमा लैजाने उपायबारे अध्ययन गरिरहेको छ। क्रुज निकाल्ने विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ।
