काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा हालै भएको विपत्तिपछिको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि एसियाली पूर्वाधार लगानी बैंकसँग सहयोग मागेका छन् ।
कतारको दोहामा बैंककी अध्यक्ष जोउ जियायीबीच भएको भेटवार्तामा मन्त्री वाग्लेले विपत्तिबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष जोउले नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई सहयोग गर्न बैंक तयार रहेको बताएकी थिइन् । मन्त्री वाग्लेले नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा बैंकप्रति धन्यवाद व्यक्त गरेका थिए ।
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक सञ्चालक समितिको बैठकमा सहभागी हुन मन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार राति दोहा पुगेको हो । बैठक असोज १२ र १३ गते दोहामा ‘भोलिको पूर्वाधार, प्रभाव र नवीनता’ भन्ने मूल नाराका साथ आयोजना हुँदै छ ।
भेटपछि मन्त्री वाग्ले बैंककी अध्यक्ष जोउले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लाम्साल, सहसचिव उपेन्द्र पाण्डे र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई सहभागी छन् । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका मन्त्री वाग्ले र नेपाली प्रतिनिधिमण्डललाई कार्यवाहक राजदूत राईसहित दूतावासका अधिकारीले स्वागत गरेका थिए ।
