काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलका अनुसार ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म निःशुल्क ओपीडी सेवा उपलब्ध हुनेछ । यो सेवा असोज १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
निःशुल्क ओपीडी बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने हस्पिटलले जनाएको छ । सो अवधिमा स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुटसमेत उपलब्ध गराइनेछ ।
कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेका अनुसार उमेर बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले ज्येष्ठ नागरिकले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ ।
नर्भिकले ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई लक्षित गर्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
