काठमाडौं । बिराट एग्रीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि आवश्यक संस्थागत परामर्श तथा अन्य सेवा लिन एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।
बिराट एग्रीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ । कम्पनीले आफूलाई देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एकका रूपमा अघि बढाइरहेको बताएको छ ।
कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ । उक्त प्लान्टबाट तैरिने तथा डुब्ने प्रकारका माछाका दाना उत्पादन गरी आफ्ना परियोजना तथा बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ ।
कम्पनीले आधुनिक प्रविधिमा आधारित पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ । उक्त प्लान्टबाट पाङ्गास माछाको फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने योजना छ ।
यस्तै, हाल सञ्चालनमा रहेको फ्लोएटिङ फिस फिड प्लान्टसँगै दैनिक १० टन उत्पादन क्षमता भएको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ । उक्त प्लान्टबाट माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गरिनेछ ।
कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत गर्ने दीर्घकालीन योजना अघि सारेको जनाएको छ ।
