काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
असोज १२ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको हाल कायम चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ । प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबर रकम छुट्याइएको छ ।
यस्तै, ३.५० प्रतिशत नगद लाभांशका लागि २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा बराबर रकम प्रस्ताव गरिएको छ । उक्त नगद लाभांशमा लाभांश करसमेत समावेश गरिएको संस्थाले जनाएको छ ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
