एजेन्सी । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले देशको आर्थिक प्रतिस्पर्धात्मकता बढाउने सरकारको प्रयासले येनप्रति बजारको विश्वास कायम गर्न सहयोग पुग्ने बताएकी छन् ।
निप्पोन टेलिभिजनले बिहीबार प्रसारण गरेको रेकर्ड गरिएको अन्तर्वार्तामा ताकाइचीले आर्थिक नीतिको उद्देश्य येनको विनिमय दरमा हस्तक्षेप गर्नु नभएको स्पष्ट पारेकी हुन् ।
उनका अनुसार सरकारले संकट व्यवस्थापन र आर्थिक वृद्धिका क्षेत्रमा लगानी बढाउँदै अर्थतन्त्रको आपूर्ति क्षमता विस्तार गर्ने नीति लिएको छ । यसबाट जापानको आर्थिक वृद्धिको सम्भावना बढ्नुका साथै विश्वव्यापी प्रतिस्पर्धात्मकता बलियो हुने उनको भनाइ छ ।
ताकाइचीले गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा येनको अवमूल्यनलाई समस्या भएको विषय आफूले उठाएको पनि बताइन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग जापानी अर्थमन्त्री सात्सुकी कातायामाको अगस्ट ३१ मा भएको द्विपक्षीय वार्तापछि अमेरिकाले जापानको आर्थिक नीतिलाई समर्थन गरेको र कुनै विशेष माग नराखेको ताकाइचीले दाबी गरिन् ।
उनले बलियो अर्थतन्त्र र दिगो वित्तीय नीतिलाई सँगसँगै अघि बढाउने सरकारको अडानमा परिवर्तन नभएको बताइन् ।
बैंक अफ जापानले ब्याजदर बढाए पनि येन अपेक्षित रूपमा बलियो हुन सकेको छैन । कमजोर येनका कारण आयात लागत बढ्नुका साथै मुद्रास्फीतिमा दबाब परेको छ ।
जापानको कमजोर बन्दै गएको वित्तीय अवस्था र थप ऋणपत्र निष्काशनको सम्भावनाले लगानीकर्तामा चिन्ता बढेको छ । ताकाइची सरकारले अघि सारेका खर्चसम्बन्धी योजनाले येन कमजोर पार्न र सरकारी ऋणपत्रको प्रतिफल बढाउन केही भूमिका खेलेको विश्लेषण पनि गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायबाट १४ सय ३० खर्ब येन बराबरको माग परेको छ । यो रकम महामारीकालीन समयको उच्च स्तरनजिक पुगेको छ । रक्षा खर्चसहित केही शीर्षकमा अझै निश्चित रकम नतोकिएकाले बजेट माग थप बढ्न सक्ने बताइएको छ ।
खाद्य वस्तुमा लाग्ने कर अस्थायी रूपमा घटाउने योजनाका लागि स्रोत व्यवस्थापनबारे सरकारले स्पष्ट विवरण दिन नसकेको र रक्षा खर्च बढ्ने सम्भावनाले पनि ऋणपत्र बजारमा चिन्ता बढाएको छ ।
ताकाइचीले बजेटका लागि आएको कुल माग नै आगामी वर्षको वास्तविक बजेटको आकार नहुने स्पष्ट पारिन् । सरकारले वर्षको अन्त्यसम्म आवश्यक र प्रभावकारी नीतिको मूल्यांकन गरेर प्राथमिकता निर्धारण गर्ने उनको भनाइ छ ।
सरकारले कर राजस्वको अवस्था हेर्दै खर्च र आम्दानी दुवैको समीक्षा गर्ने तथा बजेट निर्माण प्रक्रियालाई सुधार गर्ने ताकाइचीले बताइन् ।
उनका अनुसार जापानको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अनुपात घटाउने लक्ष्यअनुसार खर्च निर्धारण गरिनेछ । साथै, सरकारी ऋणपत्र निष्काशनको आकारलाई पनि उचित रूपमा व्यवस्थापन गरिने उनले बताइन् ।
यसअघि ताकाइचीले आगामी आर्थिक वर्षमा नयाँ ऋणपत्र निष्काशन ४०० खर्ब येनमा सीमित गर्ने लक्ष्यबारे अभिव्यक्ति दिएकी थिइन् । तर पछिल्लो अन्तर्वार्तामा उनले उक्त लक्ष्य दोहोर्याइनन् ।
