बोर्नियो द्वीपको उत्तरी तटमा दक्षिणपूर्वी एसियाको एउटा सानो देश छ, जसलाई नक्सामा हेर्दा ठूलो आर्थिक शक्तिको कल्पना गर्न गाह्रो पर्छ।
करिब ५ हजार ७ सय ६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ब्रुनाई दारुस्सलामको जनसंख्या सन् २०२५ को आधिकारिक अनुमानअनुसार ४ लाख ५८ हजार ६ सय मात्रै छ।
चार जिल्लामा फैलिएको यो देशको करिब ७२ प्रतिशत जनसंख्या ब्रुनाई–मुआरा क्षेत्रमा बस्छ।
भौगोलिक आकार सानो भए पनि ब्रुनाईको आर्थिक इतिहास भने असाधारण छ।
एउटा समय बोर्नियोको ठूलो भूभाग, सबाह, सारावाक र फिलिपिन्सका केही क्षेत्रसम्म प्रभाव फैलाएको सल्तनत आज आफ्नो पुरानो साम्राज्यको सानो भूभागमा सीमित छ।
तर यही सानो भूभागभित्र प्राकृतिक स्रोत, राज्य संरचना, पूर्वाधार र सामाजिक सुरक्षालाई जोडेर उसले उच्च जीवनस्तरको आधार तयार गरेको छ।
ब्रुनाईको आधुनिक आर्थिक कथा भने तेलसँग जोडिएको छ। सन् १९२९ मा सेरिया क्षेत्रमा तेल भेटिएपछि मुलुकको आर्थिक भाग्य बदलिन थाल्यो।
त्यसपछि प्राकृतिक ग्यास र तरलीकृत प्राकृतिक ग्यासको विकासले अर्थतन्त्रलाई अझ बलियो बनायो। सन् १९७२ मा एलएनजी प्लान्ट सञ्चालनमा आयो र ऊर्जा निर्यात ब्रुनाईको अर्थतन्त्रको मुख्य आधार बन्यो।
आज पनि तेल र ग्यास ब्रुनाईको अर्थतन्त्रका लागि निर्णायक छन्। तर यही ठाउँमा ब्रुनाईको अर्को महत्वपूर्ण कथा सुरु हुन्छ। तेलले देशलाई धनी बनायो, तर तेलमै सधैँ निर्भर भएर बस्न सकिँदैन भन्ने निष्कर्षमा ब्रुनाई पुगेको छ।
त्यसैले सन् २००७ मा सुरु गरिएको वावासन ब्रुनाई २०३५ ले तीन ठूला लक्ष्य राखेको छ।
उच्च शिक्षित र दक्ष जनशक्ति, उच्च जीवनस्तर र गतिशील तथा दिगो अर्थतन्त्र।
यही परिवर्तनको प्रयासले ब्रुनाईको कथा केवल एउटा तेलसम्पन्न देशको कथा नभई प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई कसरी मानव विकास, पूर्वाधार र सामाजिक सुरक्षामा रूपान्तरण गर्ने भन्ने आर्थिक अध्ययन पनि बनेको छ।
इतिहासले बनाएको सल्तनत
ब्रुनाईको इतिहास आधुनिक तेल उद्योगभन्दा धेरै पुरानो छ। चिनियाँ अभिलेखहरूमा प्रारम्भिक कालदेखि नै बोर्नियोको यस भूभागको व्यापारिक सम्बन्धको संकेत भेटिन्छ। समयसँगै जाभाको माजापाहित साम्राज्यको प्रभाव पनि यहाँ परेको थियो।
पन्ध्रौं शताब्दीमा इस्लामको प्रभाव बढ्दै जाँदा ब्रुनाई इस्लामी सल्तनतका रूपमा विकसित भयो। सोह्रौं शताब्दीमा सुल्तान बोल्कियाहको शासनकालमा ब्रुनाईको प्रभाव क्षेत्रीय शक्तिका रूपमा विस्तार भयो।
त्यस समयमा यसको प्रभाव बोर्नियोको ठूलो भूभागदेखि सुलु द्वीपसमूह र फिलिपिन्सका केही भागसम्म पुगेको ब्रुनाईको सरकारी इतिहासमा उल्लेख छ।
सन् १५२१ मा फर्डिनान्ड म्यागेलनको अभियानसँग सम्बन्धित युरोपेली जहाजहरू ब्रुनाई पुगेका थिए। त्यस समय ब्रुनाई दक्षिणपूर्वी एसियाको महत्वपूर्ण समुद्री शक्ति थियो।
तर साम्राज्य सधैँ टिकेन। आन्तरिक संघर्ष, समुद्री डकैती र युरोपेली औपनिवेशिक शक्तिको विस्तारले ब्रुनाईको प्रभाव क्रमशः खुम्चियो। सन् १८४१ मा सारावाक जेम्स ब्रुकलाई हस्तान्तरण भयो।
सन् १८४६ मा लाबुआन बेलायतको नियन्त्रणमा गयो। अन्ततः सन् १८८८ मा ब्रुनाई बेलायती संरक्षित राज्य बन्यो।
बीसौं शताब्दीमा प्रवेश गर्दा ब्रुनाईको भूभाग सानो भइसकेको थियो। तर सन् १९२९ मा सेरियामा तेल भेटिनु उसको इतिहासको निर्णायक मोड बन्यो। प्राकृतिक स्रोतले उसलाई पुनः आर्थिक शक्ति बन्ने बाटो खोलिदियो।
दोस्रो विश्वयुद्धका क्रममा जापानी कब्जा पनि ब्रुनाईले भोग्यो। युद्धपछि फेरि बेलायती प्रभाव कायम भयो। सन् १९५९ को संविधानले आन्तरिक स्वशासनको आधार बनायो।
सन् १९७९ मा बेलायतसँग नयाँ सन्धि भयो र अन्ततः १ जनवरी १९८४ मा ब्रुनाई पूर्ण स्वतन्त्र भयो।
स्वतन्त्रताको दिनदेखि सुल्तान हस्सनल बोल्कियाहले प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन्। ब्रुनाईको शासन संरचना राजतन्त्रमा आधारित छ र सुल्तानको राजनीतिक तथा कार्यकारी भूमिका अत्यन्त व्यापक छ।
ब्रुनाईको राजनीतिक प्रणालीलाई नेपालले प्रत्यक्ष रूपमा अनुकरण गर्नुपर्ने मोडेलका रूपमा बुझ्नु उपयुक्त हुँदैन।
तर दीर्घकालीन नीति, सरकारी संस्थाको निरन्तरता र आर्थिक योजनालाई लामो समयसम्म एउटै दिशामा अघि बढाउने क्षमताका विषयमा भने यसबाट अध्ययन गर्न सकिने पक्ष छन्।
तेलले खोलिदिएको समृद्धिको ढोका
ब्रुनाईको आर्थिक शक्तिको मूल आधार तेल र प्राकृतिक ग्यास हो।
सेरियामा तेल भेटिएको करिब एक शताब्दीपछि पनि ऊर्जा क्षेत्र ब्रुनाईको अर्थतन्त्रको केन्द्रमा छ। एलएनजी उद्योगको विकासले देशलाई कच्चा तेल निर्यात गर्ने अर्थतन्त्रबाट ग्यास प्रशोधन र निर्यात गर्ने क्षमतासमेत भएको मुलुक बनायो।
तर तेलको अर्थतन्त्रको एउटा विशेषता हुन्छ। आम्दानी ठूलो हुन सक्छ, जनसंख्या सानो भए प्रतिव्यक्ति आम्दानी झनै ठूलो देखिन्छ। ब्रुनाईले यही संरचनाबाट लाभ उठायो।
सन् २०२५ मा ब्रुनाईको जनसंख्या ४ लाख ५८ हजार ६ सय थियो। त्यसमध्ये ३ लाख ५१ हजार ७ सय नागरिक थिए। बाँकी स्थायी र अस्थायी बासिन्दा थिए।
सानो जनसंख्या र ठूलो ऊर्जा आम्दानीको संयोजनले सरकारले नागरिकका लागि सार्वजनिक सेवा विस्तार गर्न सक्ने वित्तीय क्षमता बनायो।
तर अहिलेको तथ्यांकले अर्को पक्ष पनि देखाउँछ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ मा ब्रुनाईको वास्तविक जीडीपी वृद्धि १ प्रतिशत थियो।
तेल तथा ग्यास उत्पादनमा सुधारले आर्थिक गतिविधिलाई सहयोग गरे पनि गैरतेल क्षेत्रका केही हिस्सामा कमजोरी देखिएको थियो।
सन् २०२५ मा कुल जीडीपी करिब १९.६१ अर्ब ब्रुनाई डलर थियो, जसमध्ये गैरतेल तथा ग्यास क्षेत्रको योगदान करिब १०.७९ अर्ब ब्रुनाई डलर थियो।
अर्थात् अहिले ब्रुनाईको अर्थतन्त्र विगतको जस्तो केवल तेलमा आधारित छैन। तर तेल र ग्यास अझै पनि सरकारी वित्त, बाह्य व्यापार र समग्र आर्थिक स्थायित्वका लागि निर्णायक छन्।
यही कारण ब्रुनाईका लागि समृद्धिको अर्को चरण तेल उत्पादन बढाउनु मात्रै होइन, तेलबाट आएको आम्दानीलाई नयाँ आर्थिक क्षमता निर्माणमा बदल्नु हो।
राज्यको आम्दानी जनताको सेवामा
ब्रुनाईको आर्थिक मोडेलको अर्को महत्वपूर्ण पक्ष सार्वजनिक सेवा हो।
शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षा र सार्वजनिक पूर्वाधारमा सरकारले ठूलो भूमिका खेल्दै आएको छ। वृद्धावस्था तथा सामाजिक सुरक्षाका लागि समेत संस्थागत व्यवस्था विकास गरिएको छ।
ब्रुनाईको सामाजिक सुरक्षा संरचनामा कर्मचारीको योगदानमा आधारित प्रणाली र राज्यको सामाजिक संरक्षण दुवै जोडिएका छन्।
सरकारी तथ्यांकअनुसार पुरानो कर्मचारी ट्रस्ट कोषले सार्वजनिक तथा निजी क्षेत्रका श्रमिकका लागि अवकाश र सामाजिक सुरक्षासँग सम्बन्धित सुविधा उपलब्ध गराउँदै आएको थियो। वृद्ध नागरिकका लागि छुट्टै वृद्धावस्था पेन्सनको व्यवस्था पनि छ।
पछि ब्रुनाईले योगदानमा आधारित अवकाश प्रणालीलाई पुनर्संरचना गर्दै स्किम पर्सरान कारुमन केशेलामतन अर्थात् राष्ट्रिय योगदानमा आधारित पेन्सन प्रणालीतर्फ अघि बढेको छ।
यसले काम गर्ने उमेरदेखि नै अवकाशपछिको आम्दानी सुरक्षित गर्ने उद्देश्य राख्छ।
सरकारको आधिकारिक सेवा पोर्टलमा वृद्धावस्था पेन्सन तथा विशेष आवश्यकता भएका व्यक्तिका लागि भत्तासम्बन्धी सेवासमेत उपलब्ध छन्।
यस्तो सामाजिक सुरक्षा प्रणालीको पछाडि प्राकृतिक स्रोतबाट प्राप्त राजस्वले वित्तीय आधार तयार गरेको हो।
यहाँ एउटा महत्वपूर्ण आर्थिक पाठ छ। प्राकृतिक स्रोतबाट आएको पैसा केवल सरकारी कार्यालय चलाउन वा तत्कालीन खर्च धान्न प्रयोग भएन भने त्यसलाई नागरिकको मानव पुँजी र सामाजिक सुरक्षामा रूपान्तरण गर्न सकिन्छ।
ब्रुनाईले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा यही दृष्टिकोणबाट लामो समय लगानी गर्यो। यसको प्रभाव जनजीवनमा देखिन्छ। सानो जनसंख्या भएकाले सरकारलाई सार्वजनिक सेवा विस्तार गर्न तुलनात्मक रूपमा सजिलो पनि भयो।
यही कारण ब्रुनाईको मोडेललाई अध्ययन गर्दा केवल तेलको भण्डार हेरेर निष्कर्ष निकाल्न मिल्दैन। स्रोतको आकारभन्दा स्रोतबाट आएको आम्दानी कसरी व्यवस्थापन गरियो भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ।
तेलपछि के हुन्छ भन्ने चिन्ता
ब्रुनाईको सफलताको सबैभन्दा ठूलो चुनौती पनि उसको सफलताको आधार नै हो।
तेल र प्राकृतिक ग्यास सीमित स्रोत हुन्। उत्पादन घट्दै जाँदा सरकारी आम्दानीमा दबाब पर्न सक्छ। विश्व ऊर्जा बजारमा मूल्य घटबढ हुँदा पनि अर्थतन्त्र प्रभावित हुन्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ को आफ्नो मूल्यांकनमा ब्रुनाईको वित्तीय अवस्थामा हाइड्रोकार्बन आम्दानीको कमजोरीको प्रभाव देखिएको उल्लेख गरेको छ।
आर्थिक गतिविधि सुधारिए पनि वित्तीय घाटा उच्च रहेको र तेल तथा ग्यासबाट प्राप्त राजस्व अझै महत्वपूर्ण रहेको उसको विश्लेषण छ।
यसैले ब्रुनाई अहिले आफ्नो सबैभन्दा ठूलो आर्थिक संक्रमणको चरणमा छ।
तेलबाट पैसा कमाउने देशबाट तेलको पैसाले नयाँ उद्योग निर्माण गर्ने देश बन्ने प्रयास।

ब्रुनाईको राजधानी बन्दर सेरी बेगवानको दृश्य। फोटो स्रोत: ब्रुनाई सरकार, सूचना विभाग।
यो परिवर्तन सजिलो छैन। सरकारले पेट्रोकेमिकल, खाद्य उद्योग, पर्यटन, सूचना प्रविधि, सेवा क्षेत्र, डिजिटल अर्थतन्त्र र अन्य गैरतेल क्षेत्रलाई प्राथमिकता दिएको छ।
२०२६ मा ब्रुनाई सरकारले पनि डाउनस्ट्रीम तेल तथा ग्यास, खाद्य, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा क्षेत्रलाई प्राथमिक क्षेत्रका रूपमा अघि सारेको जनाएको छ।
ऊर्जा मन्त्रालयले पनि कच्चा तेल र एलएनजी निर्यातमा मात्र निर्भर नरही पेट्रोकेमिकलजस्ता उच्च मूल्यवर्धित डाउनस्ट्रीम उद्योग विस्तार गर्ने रणनीति अघि बढाइरहेको जनाएको छ।
यसको अर्थ तेल जमिनबाट निकालेर बेच्नेभन्दा त्यसैलाई प्रशोधन गरी बढी मूल्य सिर्जना गर्ने दिशामा ब्रुनाई अघि बढिरहेको छ।
यही मोडेल नेपालका लागि पनि महत्वपूर्ण हुन सक्छ। नेपालसँग तेल छैन। तर जलविद्युत्, पर्यटन, जडीबुटी, कृषि, वन, सूचना प्रविधि र मानव पुँजीजस्ता स्रोत छन्।
स्रोत बेच्ने र स्रोतलाई मूल्यवर्धित उत्पादनमा बदल्ने अर्थतन्त्रबीच ठूलो अन्तर हुन्छ।
गैरतेल अर्थतन्त्रको नयाँ परीक्षा
ब्रुनाईको गैरतेल अर्थतन्त्र पछिल्ला वर्षमा बढेको छ।
सरकारी तथ्यांकअनुसार सन् २०२२ यता गैरतेल तथा ग्यास क्षेत्रले कुल जीडीपीको आधाभन्दा बढी हिस्सा ओगट्न थालेको छ। सन् २०१७ मा यसको हिस्सा करिब ३१ प्रतिशत थियो।
सन् २०२४ मा गैरतेल क्षेत्रको योगदान ५० प्रतिशतभन्दा माथि पुगेको ब्रुनाई सरकारको आधिकारिक विवरणमा उल्लेख छ।
यो परिवर्तन महत्वपूर्ण भए पनि यसलाई पूर्ण आर्थिक रूपान्तरण मान्न अझै समय लाग्छ।
किनकि गैरतेल क्षेत्रको ठूलो हिस्सा बढे पनि सरकारी राजस्व, निर्यात र बाह्य क्षेत्रको स्थायित्वमा तेल तथा ग्यासको भूमिका अझै बलियो छ।
सन् २०२५ को अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकले पनि यही मिश्रित अवस्था देखाउँछ। गैरतेल तथा ग्यास जीडीपी करिब १०.८ अर्ब ब्रुनाई डलर पुगेको भए पनि तेल तथा ग्यास क्षेत्र अझै अर्थतन्त्रको महत्वपूर्ण हिस्सा थियो।
यसैले ब्रुनाईको अबको सफलता केवल गैरतेल जीडीपी बढाउनुमा छैन। निजी क्षेत्र विस्तार, नयाँ उद्योगको प्रतिस्पर्धात्मकता, रोजगारी सिर्जना र निर्यात क्षमता बढाउनुपर्ने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ।
ब्रुनाई सरकारले यही कारण आर्थिक विविधीकरणलाई वावासन ब्रुनाई २०३५ को केन्द्रमा राखेको छ।
वावासन २०३५ : एउटा दीर्घकालीन आर्थिक प्रयोग
सन् २००७ मा सुरु गरिएको वावासन ब्रुनाई २०३५ केवल आर्थिक योजना होइन। यो मानव पुँजी, जीवनस्तर र अर्थतन्त्रलाई एउटै रणनीतिक ढाँचामा जोड्ने दीर्घकालीन विकास दृष्टिकोण हो।
यसका तीन मुख्य लक्ष्य छन्।
पहिलो, अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षित, दक्ष र सफल जनशक्ति तयार गर्नु। दोस्रो, विश्वका उच्च जीवनस्तर भएका देशहरूको समूहमा पुग्नु।
तेस्रो, प्रतिव्यक्ति आयका आधारमा उच्च स्थानमा रहने गतिशील र दिगो अर्थतन्त्र निर्माण गर्नु।
यो योजनाको एउटा महत्वपूर्ण पक्ष निरन्तरता हो। सरकार परिवर्तन हुँदा विकासको दिशा पूर्ण रूपमा परिवर्तन हुनेभन्दा दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई निरन्तरता दिने प्रयास गरिएको छ।
२०२६ को बजेटको मूल विषय नै वावासन ब्रुनाई २०३५ लाई दिगो रूपमा हासिल गर्ने रहेको छ।
आगामी पाँच वर्षलाई २०३५ को लक्ष्यतर्फ निर्णायक चरणका रूपमा लिएर रणनीतिक लगानी, आर्थिक विविधीकरण, वित्तीय अनुशासन र उच्च प्रभाव पार्ने विकास परियोजनामा जोड दिइएको छ।
यही पक्ष नेपालका लागि निकै महत्वपूर्ण छ। नेपालमा योजना धेरै छन्। नीति पनि धेरै छन्। तर योजना, बजेट, कार्यान्वयन र परिणामबीचको सम्बन्ध कमजोर हुने समस्या पटकपटक देखिन्छ।
ब्रुनाईको उदाहरणबाट सिक्न सकिने पहिलो कुरा योजना बनाउनु मात्र होइन, लामो समयसम्म एउटै राष्ट्रिय लक्ष्यलाई बजेट र संस्थागत कार्यान्वयनसँग जोडिराख्नु हो।
नेपालले ब्रुनाईबाट के सिक्ने ?
नेपाल र ब्रुनाईबीच भूगोल, जनसंख्या, शासन प्रणाली, प्राकृतिक स्रोत र आर्थिक संरचनामा ठूलो अन्तर छ। त्यसैले ब्रुनाईको मोडेललाई जस्ताको तस्तै नेपालमा लागू गर्न सकिँदैन।
तर केही आर्थिक पाठ भने स्पष्ट छन्।
पहिलो पाठ प्राकृतिक स्रोतलाई तत्कालीन खर्चको स्रोत मात्र नबनाउने हो।
ब्रुनाईले तेलबाट प्राप्त आम्दानीको ठूलो हिस्सा सार्वजनिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी गर्यो। नेपालसँग तेल छैन तर जलविद्युत् छ। अब जलविद्युत् निर्यातबाट प्राप्त हुने आम्दानीलाई पनि उत्पादनशील क्षेत्रमा पुनः लगानी गर्ने स्पष्ट रणनीति आवश्यक हुन्छ।
दोस्रो पाठ स्रोतमा आधारित अर्थतन्त्रलाई मूल्यवर्धित अर्थतन्त्रमा बदल्ने हो।
नेपालले बिजुली उत्पादन गरेर बेच्ने मात्र होइन, सस्तो र भरपर्दो बिजुलीका आधारमा उद्योग विस्तार गर्न सक्छ।
विद्युत् बढी भएको समयमा उद्योग, विद्युतीय यातायात, कृषि प्रशोधन, डाटा केन्द्र र अन्य ऊर्जा-आधारित उत्पादन विस्तार गर्न सकिन्छ।
तेस्रो पाठ मानव पुँजीमा लगानी हो।
ब्रुनाईको दीर्घकालीन योजनाले शिक्षित र दक्ष जनशक्तिलाई आर्थिक विकासको आधार मानेको छ।
नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा विदेश जाने अवस्था छ। विदेश जाने युवालाई रोक्ने नारा मात्र पर्याप्त हुँदैन। देशभित्रै प्रतिस्पर्धी रोजगारी, प्राविधिक शिक्षा, उद्यमशीलता र उच्च मूल्यका सेवाक्षेत्र निर्माण गर्नुपर्ने हुन्छ।
चौथो पाठ आर्थिक विविधीकरणलाई भाषणमा होइन, लगानीमा उतार्ने हो।
ब्रुनाईले अहिले पनि तेल तथा ग्यासबाट ठूलो आम्दानी गर्छ। तर उसले तेल सकिनुअघि नै पेट्रोकेमिकल, पर्यटन, खाद्य, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी बढाइरहेको छ।
नेपालले पनि पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, औषधि, जलविद्युत्, निर्माण सामग्री र डिजिटल सेवामा स्पष्ट प्राथमिकता तोक्न सक्छ।
पाँचौं पाठ सामाजिक सुरक्षालाई संस्थागत बनाउने हो। ब्रुनाईको वृद्धावस्था र अवकाश प्रणालीले नागरिकलाई काम गर्ने समयदेखि नै भविष्यको सुरक्षासँग जोड्छ।
नेपालमा पनि सामाजिक सुरक्षा विस्तार भइरहेको छ। तर यसको वित्तीय दिगोपना, योगदानमा आधारित प्रणाली, लक्षित सहायता र वास्तविक लाभग्राही पहिचानलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता छ।
छैटौं पाठ राज्यको खर्चमा अनुशासन हो। प्राकृतिक स्रोतबाट पैसा आएपछि सरकारी खर्च बढाउनु सजिलो हुन्छ। तर स्रोत घट्दा त्यही खर्च संरचना बोझ बन्न सक्छ। ब्रुनाई आफैं अहिले यही चुनौतीसँग जुधिरहेको छ।
सन् २०२५ मा उसको वित्तीय घाटा उच्च रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको मूल्यांकनले देखाउँछ।
नेपालले अहिले नै राजस्व, ऋण र विकास खर्चबीचको सन्तुलनमा ध्यान दिनुपर्ने पाठ यसबाट लिन सक्छ।
समृद्धि मात्र होइन, दिगोपनको परीक्षा
ब्रुनाईको कथा पूर्ण सफलताको अन्तिम अध्यायमा पुगेको छैन। तेल र ग्यासबाट आएको सम्पत्तिले उच्च जीवनस्तर बनाउन सहयोग गर्यो। तर अब त्यही सम्पत्तिमा निर्भरता घटाउनु उसको सबैभन्दा ठूलो आर्थिक चुनौती हो।
सरकारी अधिकारीहरूले समेत तेल र ग्यासमा निर्भरता घटाउन आर्थिक विविधीकरणलाई तीव्र बनाउनुपर्ने आवश्यकता स्वीकार गरेका छन्। २०१५ देखि २०२५ सम्म राष्ट्रिय अर्थतन्त्रको औसत वार्षिक वृद्धि ०.७ प्रतिशत रहेको र गैरतेल तथा ग्यास क्षेत्रको वृद्धि २.७ प्रतिशत रहेको भन्दै सरकारले थप तीव्रता आवश्यक रहेको जनाएको छ।
यसले एउटा महत्वपूर्ण तथ्य देखाउँछ। धनी हुनु र दिगो रूपमा धनी भइरहनु एउटै कुरा होइन।
प्राकृतिक स्रोतले देशलाई एक पुस्तामा धनी बनाउन सक्छ। तर त्यसपछि पनि समृद्धि कायम राख्न मानव पुँजी, निजी क्षेत्र, उत्पादक उद्योग, प्रविधि, संस्थागत क्षमता र निर्यात प्रतिस्पर्धा आवश्यक हुन्छ।
ब्रुनाई अहिले यही दोस्रो चरणमा प्रवेश गरिरहेको छ।
सानो देशको ठूलो आर्थिक सन्देश
बन्दर सेरी बेगवानको दृश्यमा आधुनिक भवन, फराकिला सडक, मस्जिद, सरकारी संरचना र पानीमाथिको परम्परागत बस्ती क्याम्पोङ आयर एकैसाथ देखिन्छन्। एउटा दृश्यले ब्रुनाईको आर्थिक यात्रा बुझाउँछ।
परम्परागत सल्तनतबाट आधुनिक ऊर्जा अर्थतन्त्रसम्मको यात्रा। ब्रुनाईको राष्ट्रिय पहिचान मलय संस्कृति, इस्लाम र राजतन्त्रसँग जोडिएको छ। स्वतन्त्रतापछि पनि राज्य संरचना यही पहिचानमा आधारित रह्यो।
सन् १९८४ मा स्वतन्त्र भएपछि ब्रुनाई संयुक्त राष्ट्रसंघ र आसियानमा प्रवेश गर्यो।
तर उसको आर्थिक यात्रा केवल सांस्कृतिक वा राजनीतिक पहिचानको परिणाम होइन। यसको पछाडि तेल, ग्यास, सानो जनसंख्या, दीर्घकालीन सरकारी योजना, सार्वजनिक लगानी र सामाजिक सुरक्षाको संयोजन छ।
त्यसैले ब्रुनाईलाई केवल ‘तेलले धनी बनाएको देश’ भनेर बुझ्नु अधुरो हुन्छ।
तेलले पैसा दिएको हो। त्यसलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा रूपान्तरण गर्ने काम राज्यले गरेको हो। अहिले त्यही राज्यले तेलपछिको अर्थतन्त्र खोजिरहेको छ।
नेपालका लागि यही सबैभन्दा महत्वपूर्ण सन्देश हो। नेपालसँग ब्रुनाईजस्तो तेलको विशाल स्रोत छैन। नेपालसँग ४ लाख ५८ हजारको जनसंख्या पनि छैन। उल्टै नेपालको जनसंख्या धेरै ठूलो छ, विकास आवश्यकता विशाल छ र भौगोलिक चुनौती पनि फरक छ।
तर नेपालसँग जलविद्युत्, पर्यटन, कृषि, वन, जडीबुटी, जैविक विविधता, युवा जनशक्ति र सूचना प्रविधिको सम्भावना छ।
समस्या स्रोतको अभाव मात्रै होइन। समस्या स्रोतलाई उत्पादन, रोजगारी, निर्यात र नागरिकको जीवनस्तरमा बदल्ने क्षमताको पनि हो।
ब्रुनाईको आर्थिक कथा यही ठाउँमा उपयोगी हुन्छ। स्रोत पाएर मात्र देश धनी हुँदैन। स्रोतबाट प्राप्त आम्दानीलाई दीर्घकालीन राष्ट्रिय सम्पत्तिमा बदल्न सक्नुपर्छ।
ब्रुनाईले तेलबाट कमाएको पैसा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी गर्यो। अहिले उसले त्यही आधारमाथि तेलपछिको अर्थतन्त्र बनाउने प्रयास गरिरहेको छ।
नेपालले जलविद्युत्, पर्यटन वा अन्य स्रोतबाट कमाउने आम्दानीलाई पनि त्यस्तै गरी दीर्घकालीन उत्पादनशील सम्पत्तिमा बदल्न सकेमा आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउन सकिन्छ।
ब्रुनाईको अर्को सन्देश अझ स्पष्ट छ। आजको आम्दानीभन्दा भोलिको अर्थतन्त्र महत्वपूर्ण हुन्छ।
तेल सकिन सक्छ। ग्यास घट्न सक्छ। अन्तर्राष्ट्रिय मूल्य घट्न सक्छ। तर दक्ष जनशक्ति, राम्रो पूर्वाधार, प्रविधि, उद्योग र संस्थागत क्षमता निर्माण भयो भने अर्थतन्त्रले नयाँ आधार पाउन सक्छ।
वावासन ब्रुनाई २०३५ को मूल लक्ष्य पनि यही दिशामा छ। उच्च शिक्षित नागरिक, उच्च जीवनस्तर र गतिशील तथा दिगो अर्थतन्त्र।
अब ब्रुनाईका लागि आगामी वर्षहरूले यसको तेलसम्पत्तिको सफल उपयोगभन्दा पनि तेलपछिको आर्थिक रूपान्तरण कति सफल हुन्छ भन्ने प्रश्नको उत्तर दिनेछन्।
त्यो उत्तर ब्रुनाईका लागि मात्र महत्वपूर्ण हुने छैन। प्राकृतिक स्रोतमा निर्भर अन्य साना अर्थतन्त्रका लागि पनि महत्वपूर्ण हुनेछ।
नेपालका लागि भने ब्रुनाईको कथा एउटा सानो तर स्पष्ट आर्थिक पाठ हो। स्रोत सीमित हुनु समस्या होइन। स्रोतको मूल्य सिर्जना गर्ने क्षमता कमजोर हुनु समस्या हो।
ब्रुनाईले तेलबाट समृद्धि कमायो। अब त्यो समृद्धिलाई तेलबिनाको भविष्यमा कसरी जोगाउने भन्ने परीक्षामा छ। नेपालसँग तेल छैन। तर भविष्य निर्माण गर्ने स्रोतहरू छन्।
अब प्रश्न स्रोत कति छ भन्ने होइन। त्यसबाट कति मूल्य सिर्जना गर्न सकिन्छ भन्ने हो।
