काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधासम्बन्धी व्यवस्थामा लचकता अपनाउँदै विदेशमा उपचार, दूरसञ्चार सेवा र सेवा आयातका लागि सटही सीमा बढाएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै नेपाली नागरिकले विदेशमा उपचार गराउँदा पाउने विदेशी मुद्रा सटही सुविधा वार्षिक १५ हजारबाट बढाएर ३० हजार अमेरिकी डलर पुर्याएको छ।
संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा उपचार गराउन तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिद गर्न नेपाली नागरिकले अब वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्।
त्यस्तै, नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिएबापत वार्षिक ५ लाख अमेरिकी डलरसम्म बैंक तथा वित्तीय संस्थामार्फत सोझै भुक्तानी गर्न पाउने भएका छन्। यसअघि यस्तो भुक्तानीको सीमा १ लाख अमेरिकी डलर थियो।
सेवा आयातबापतको भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा बढाएको छ। नियामक निकायको सहमति वा सिफारिसका आधारमा वाणिज्य बैंकले आफ्नै स्तरबाट प्रतिपटक ३० हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।
अब ३० हजार अमेरिकी डलरभन्दा बढीको भुक्तानीका लागि मात्र नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। नियामक निकाय नभएको अवस्थामा भने ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि राष्ट्र बैंककै स्वीकृति लिनुपर्ने पुरानो व्यवस्था यथावत् छ।
सेवा आयात गर्दा प्रतिपटक ३० हजार अमेरिकी डलरभन्दा बढी रकम अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा मात्र विदेशी बैंकको ‘बैंक ग्यारेन्टी’ अनिवार्य गरिएको छ। यसअघि १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीमा नै बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था थियो।
