काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचार तथा परीक्षण सेवामा छुट दिने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतका विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यो सुविधा नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका शाखामा लागू हुनेछ।
छुट अस्पतालको बहिरंग सेवा (ओपीडी) अन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवामा लागू हुनेछ। त्यस्तै, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत बेड भाडा, प्रयोगशाला र रेडियोलोजी सेवा तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा पनि छुट पाइनेछ।
यो सुविधा लिन ग्राहकले अस्पतालको बिल एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
अस्पतालमा उपलब्ध तोकिएका सेवामा मात्र लागू हुने यो सम्झौताले बैंकका ग्राहकलाई भारतमा उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा थप सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ।
