काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रा.लि.ले काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ। फोटोन ब्राण्डका विद्युतीय कमर्सियल सवारीसाधनलाई लक्षित गरी निर्माण भइरहेको सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण र पर्याप्त सेवा क्षमता रहने कम्पनीले जनाएको छ।
सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त दक्ष प्राविधिक र इन्जिनियरको टोली रहनेछ। बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्स, ब्याट्री परीक्षण, नियमित मर्मतसम्भार तथा ड्राइभर र प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध गराउने गरी सेन्टर तयार भइरहेको कम्पनीको भनाइ छ।
फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले बिक्रीपछिको गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर ठूलो क्षमताको सर्भिस सेन्टरको अवधारणा अघि बढाइएको बताए। उनका अनुसार सवारीसाधन बिक्री गर्नु मात्र कम्पनीको जिम्मेवारी नभई ग्राहकलाई सहज रूपमा गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग उपलब्ध गराउनु पनि कम्पनीको दायित्व हो।
नयाँ सेन्टरमा फोटोनका विभिन्न मोडलका सवारीसाधनको निरीक्षण, प्राविधिक परीक्षण, मर्मतसम्भार तथा आवश्यक सेवा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनेछ। पर्याप्त जेन्युइन पार्ट्स मौज्दात राखिने भएकाले मर्मतका क्रममा हुने ढिलाइ घट्ने र सवारीसाधन छिटो ग्राहकलाई फिर्ता गर्न सकिने कम्पनीले जनाएको छ। यसबाट लामो समयसम्म सवारीसाधन सञ्चालनमा नआउँदा हुने व्यावसायिक क्षति पनि कम हुने अपेक्षा गरिएको छ।
फोटोनले नेपालभर बिक्रीपछिको सेवा सञ्जालसमेत विस्तार गरिरहेको छ। हाल देशभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गमा प्रत्येक १०० किलोमिटरभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ।
पेप्सीकोलामा निर्माण भइरहेको नयाँ सर्भिस सेन्टरलाई कम्पनीले बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरेको महत्वपूर्ण लगानीका रूपमा लिएको छ। एउटै स्थानबाट मर्मतसम्भार, पार्ट्स, ब्याट्री परीक्षण र प्राविधिक सहयोग उपलब्ध हुने भएकाले ईभी कमर्सियल सवारीसाधनका ग्राहकलाई सेवा लिन थप सहज हुने कम्पनीको दाबी छ।
