Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel

कोरला नाकामा अड्किए हजारौं गाडी

नाडा र नाइमा अटो शोमा बुक भएका सवारीसाधन दशैंको बिक्री सिजनमै आपूर्ति अवरुद्ध हुँदा व्यवसायी, ग्राहक र आयात प्रणालीमाथि थप दबाब परेको छ।

कोरला नाकामा अड्किए हजारौं गाडी
कोरला नाकामा रोकिएका चीनबाट आयातित विद्युतीय सवारीसाधन। फोटो स्रोत: रासस / फाइल फोटो।
A A+ A-

काठमाडौं । भदौमा काठमाडौंका दुई ठूला अटो शोमा नयाँ गाडीको बुकिङ गर्दा धेरै ग्राहकको योजना एउटै थियो, दशैंअघि गाडी घर लैजाने।

शो सकियो, बुकिङ भयो, बैंकिङ प्रक्रिया अघि बढ्यो, केहीले पुरानो गाडी बेच्ने तयारी गरे, केहीले ऋणको प्रक्रिया मिलाए। कम्पनीहरूले पनि चीनबाट गाडी ल्याउने, भन्सार जाँचपास गर्ने र काठमाडौंका सोरुमसम्म पुर्‍याएर चाडअघि डेलिभरी दिने हिसाब निकाले।

अहिले त्यो हिसाब बिग्रिएको छ। चीनबाट नेपाल आउने मुख्य उत्तरी व्यापारिक मार्गमध्ये कोरला जोड्ने बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो र नदी कटानले क्षतिग्रस्त भएपछि हजारौं सवारीसाधनको आपूर्ति रोकिएको छ। समस्या भन्सारमा मात्र छैन। भन्सारसम्म आइपुगेका गाडी जाँचपास भएर पनि तल झर्न सकेका छैनन्।

कतिपय कन्टेनर भन्सार यार्डमै रोकिएका छन्। चीनतर्फ पनि नयाँ सवारीसाधन र सामान बोकेका कन्टेनर थुप्रिँदै गएका छन्।

यसको सबैभन्दा ठूलो असर अहिले दशैं-तिहारको बजारमा परेको छ।

अटोमोबाइल व्यवसायमा वर्षको ठूलो कारोबार यही समय हुने भएकाले सडक अवरोध केवल यातायातको समस्या होइन, यो व्यवसायीको बिक्री, आयातकर्ताको नगद प्रवाह, बैंकको कर्जा कारोबार, भन्सार राजस्व र ग्राहकको खरिद योजनासम्म जोडिएको आपूर्ति संकट बनेको छ।

सरकारी सडक निकायका अनुसार असोज ८ गतेदेखि परेको अविरल वर्षापछि कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा-बेनी-जोमसोम-कोरला सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको थियो।

सडक विभागले असोज ११ र १४ गते सडक अवरोध तथा सडक अवस्थासम्बन्धी छुट्टाछुट्टै सूचना जारी गरेको थियो। यो मार्ग राष्ट्रिय राजमार्ग NH-048 अन्तर्गतको राष्ट्रिय गौरवको सडक योजना हो।

सडक मर्मतको काम अहिले अघि बढेको छ। असोज २२ सम्म आइपुग्दा म्याग्दीको कुनौटा क्षेत्रमा बाढीले करिब २५० मिटर सडक कटान गरेको स्थानमा मार्ग छिचोल्ने काम भएको छ। यसले आवागमन पुनःस्थापनाको सम्भावना बढाएको छ, तर बाटोका सबै जोखिम र क्षति एकैपटक हटिसकेका छैनन्।

यसबीच, कोरला भन्सार क्षेत्रमा रोकिएका गाडीको संख्या र अटोमोबाइल कम्पनीहरूको बुकिङ जोड्दा अहिलेको समस्या कति ठूलो छ भन्ने स्पष्ट हुन्छ।

अटो शोको बुकिङ, सडकमा रोकिएको डेलिभरी

नेपालको अटोमोबाइल बजारका लागि भदौ महत्वपूर्ण महिना हो। यस वर्ष साउन २६ देखि ३१ गतेसम्म नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना भयो। त्यसको केही दिनपछि भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो आयोजना गरिएको थियो।

नाइमा एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी थिए। करिब ४० नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको थियो।

नाडा अटो शोमा भने ५३ वटा सवारी ब्रान्ड सहभागी भए। २०० भन्दा बढी स्टल रहेको प्रदर्शनी करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना गरिएको थियो। नाडाले करिब दुई लाख आगन्तुक आउने अपेक्षा गरेको थियो।

यस वर्षको दुईवटा अटो शोले नेपाली बजारमा विद्युतीय सवारीको विस्तारलाई अझ बलियो बनायो। नयाँ चिनियाँ ब्रान्ड, नयाँ विद्युतीय मोडल, हाइब्रिड सवारी र विभिन्न मूल्य समूहका गाडी एकैपटक बजारमा आए। ग्राहकले पनि दशैं–तिहारअघि खरिद गर्ने हिसाबले बुकिङ गरे।

नाइमा एक्स्पोमा केही कम्पनीले उल्लेख्य बुकिङ लिए। लिपमोटरका लागि आधिकारिक वितरकले एक्स्पोको छ दिनमा ३०० भन्दा बढी बुकिङ प्राप्त गरेको थियो। यसले अटो शोमा ग्राहकको तत्काल खरिद रुचि कति बलियो थियो भन्ने देखाउँछ।

नाडा अटो शोले पनि यही बजार मनोविज्ञानलाई समातेको थियो।

भदौ ९ देखि १४ गतेसम्म भएको शोमा २३ वटा पेसेन्जर भेहिकल ब्रान्ड, १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्ड र १३ वटा दुईपांग्रे ब्रान्ड सहभागी थिए। वित्तीय तथा बीमा कम्पनीसहित करिब ७० वटा स्टल अटो पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण र अन्य सेवाका थिए।

अर्थात्, अटो शो केवल गाडी प्रदर्शन गर्ने कार्यक्रम थिएन। यो वर्षको मुख्य बिक्री सिजन सुरु गर्ने व्यवसायिक प्लेटफर्म थियो।

समस्या त्यहीँबाट सुरु भयो। चीनबाट आउने गाडीको आपूर्ति प्रभावित भएपछि अटो शोमा बुकिङ गरेका ग्राहकले गाडी पाउने समय अनिश्चित बनेको छ। केही कम्पनीसँग काठमाडौंमै स्टक भएका गाडी छन्। तर चीनबाट नयाँ खेप आउनुपर्ने मोडलमा भने डेलिभरी तालिका सडकमा निर्भर भएको छ।

व्यवसायीका अनुसार ग्राहकले गाडी बुक गर्दा कम्पनीले सामान्य आयात र ढुवानी समयलाई आधार बनाएर डेलिभरीको अनुमान दिएको थियो। प्राकृतिक विपत्तिले त्यो अनुमान उल्ट्याइदिएपछि अब कम्पनी र ग्राहकबीचको कारोबारको सबैभन्दा महत्वपूर्ण चरण डेलिभरीमा आएर अड्किएको छ।

यही कारण दशैंको उत्साहमा गरिएको बुकिङ अहिले ग्राहकका लागि प्रतीक्षामा बदलिएको छ।

कोरला भन्सारमा गाडी, तल सडकमा जाम

कोरला नाकामा देखिएको समस्याको एउटा महत्वपूर्ण पक्ष बुझ्नुपर्ने हुन्छ। नाका पूर्ण रूपमा बन्द भएर सबै काम रोकिएको अवस्था मात्र होइन। भन्सार प्रक्रिया चलिरहेको छ, तर भन्सारपछि गाडी र सामान तल झार्ने सडक अवरुद्ध हुँदा पूरा आपूर्ति चक्र रोकिएको हो।

भन्सार कार्यालयका अनुसार चीनबाट आएका कन्टेनरको जाँचपास गर्ने काम भइरहेको छ। तर जाँचपास भएपछि ती कन्टेनर र गाडी गन्तव्यतर्फ लैजान सडक नहुँदा भन्सार यार्डमै थुप्रिएका छन्।

भदौ-असोजमा कोरला हुँदै दशै-तिहारलाई लक्षित गरेर ठूलो परिमाणमा सामान नेपाल आउँछ। त्यसमा विद्युतीय सवारी, अन्य सवारीसाधन, औद्योगिक सामग्री, व्यापारिक सामान र उपभोग्य वस्तु छन्।

सडक अवरुद्ध भएपछि भन्सारमा एउटा असामान्य स्थिति बनेको छ। राज्यले राजस्व उठाउन तयार पारेको प्रणाली चलिरहेको छ, तर राजस्व तिरेर छुटिसकेको सामान बजारसम्म पुर्‍याउने पूर्वाधारले साथ दिएको छैन।

यही अन्तर अहिलेको संकटको मूल बिन्दु हो।

भन्सार प्रमुख विदुर चुडालका अनुसार भन्सारमा आएका कन्टेनरको जाँचपास प्रक्रिया भइरहेको छ। सामान्य अवस्थामा दैनिक करिब ३० देखि ४० वटा गाडी जाँचपास हुने भए पनि सडक अवरोधका कारण समग्र आवागमन प्रभावित भएको छ।

यसअघि नै भन्सार जाँचपास भइसकेका करिब ८ देखि ९ सय गाडी तलतर्फको सडकमा रोकिएको विवरण उनले दिएका छन्। भन्सार परिसरमा मात्र करिब १२ सयभन्दा बढी विद्युतीय सवारीसाधन जाँचपासको प्रतीक्षामा रहेको उनको भनाइ छ।

चीनतर्फ भने करिब एक हजारदेखि दुई हजार वा त्योभन्दा बढी गाडी हुन सक्ने अनुमान छ। चीनतर्फबाट यकिन विवरण प्राप्त नभएकाले त्यसलाई अन्तिम संख्या मान्न नसकिने भन्सार अधिकारीको भनाइ छ।

यसरी हेर्दा अहिले कोरला आसपासको आपूर्ति प्रणालीमा रहेका सवारीसाधनको संख्या हजारौंमा पुग्छ।

यो केवल अटोमोबाइल व्यवसायको तथ्यांक होइन। यो चीनबाट नेपालतर्फ आउने व्यापारिक सामानको आपूर्ति शृंखलामा बनेको ठूलो अवरोध हो।

अझ महत्वपूर्ण कुरा, रोकिएका सबै गाडी एउटै कम्पनी वा एउटै ब्रान्डका होइनन्।

चीनबाट नेपाल आयात हुने विभिन्न विद्युतीय तथा पेट्रोलियम सवारीसाधनका ब्रान्ड यसमा प्रभावित छन्। त्यसैले ग्राहकले एउटा ब्रान्डको गाडी नआए अर्को ब्रान्डको गाडी लिने विकल्प पनि सजिलै प्रयोग गर्न सक्ने अवस्था छैन।

समस्या ब्रान्डमा होइन, बाटोमा छ।

बुकिङ भयो, डेलिभरी रोकियो

अटोमोबाइल कम्पनीहरूका लागि अहिलेको सबैभन्दा ठूलो समस्या बिक्रीभन्दा पनि डेलिभरी व्यवस्थापन बनेको छ।

एमएडब्ल्यू मोटर्ससँग नाडा अटो शो र त्यसपछि गरी दुई हजारभन्दा बढी गाडीको बुकिङ रहेको कम्पनी पक्षको भनाइ छ। चीनबाट आउने गाडीको आपूर्ति नै प्रभावित भएपछि ग्राहकलाई तोकिएको समयमा गाडी दिन कठिन भएको कम्पनीका प्रतिनिधिले बताएका छन्।

व्यवसायीको भनाइ सरल छ, गाडी आइपुग्यो भने डेलिभरी दिन कम्पनी तयार छ। समस्या कम्पनीको सोरुममा होइन, गाडी आउने बाटोमा छ। यसको अर्थ ग्राहकले पैसा तिर्ने, बैंकबाट कर्जा स्वीकृत हुने, बीमा प्रक्रिया अघि बढ्ने र कम्पनीले डेलिभरी दिने सामान्य कारोबार चक्र सडकमा अड्किएको छ।

जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार केइ ब्रान्डका करिब ८० वटा गाडी कोरला क्षेत्रमा रोकिएका छन्। तीमध्ये भन्सार प्रक्रिया पूरा भएका गाडीसमेत सडक नखुलेसम्म तल ल्याउन नसकिने अवस्था छ।

म्याक्ससका लागि अटो व्यवसायी ध्रुव थापाका अनुसार करिब २५ देखि ३० वटा गाडी बाटोमा रोकिएका छन्। नाडा अटो शोमा मात्रै ४४ वटा बुकिङ भएको र त्यसपछि पनि बुकिङ आएको उनको भनाइ छ।

यसको अर्थ एउटा कम्पनीमा २५ वा ३० वटा गाडी रोकिँदा पनि त्यो कम्पनीको दशैं बिक्री लक्ष्य प्रभावित हुन्छ। धेरै कम्पनीको अवस्था एकैपटक उस्तै भएपछि असर समग्र बजारमा पुग्छ।

चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका प्रतिनिधि रोजेश महर्जनका अनुसार नाडा र नाइमा अटो शोमा गरी चेरीका एक हजारभन्दा बढी गाडीको बुकिङ भएको थियो।

यहाँ समस्या अझ गम्भीर छ। चेरी मात्र होइन, चीनबाट आउने विभिन्न ब्रान्ड प्रभावित छन्। एउटा कम्पनीको गाडी समयमा नआए ग्राहकले अर्को कम्पनीको गाडी किन्ने विकल्प पनि सहज छैन, किनकि वैकल्पिक ब्रान्डका गाडी पनि उही आपूर्ति मार्गमा निर्भर छन्।

महर्जनको भनाइमा सबै ब्रान्ड प्रभावित हुनु अहिलेको अवस्थाको सबैभन्दा ठूलो व्यावसायिक जोखिम हो। लिपमोटरका १५० भन्दा बढी गाडी पनि बाटोमै रोकिएका छन्। यीमध्ये नाडा र नाइमा अटो शोमा बुक भएका गाडी रहेको कम्पनी पक्षले जनाएको छ।

दशैंमा गाडी हस्तान्तरण गर्ने तयारीमा रहेका कम्पनीका लागि यो सीधा बिक्री क्षति हो।

बीवाईडीको हकमा पनि अवस्था फरक छैन। नारायणचौरस्थित सोरुमका लागि दशैंमा डेलिभरी गर्ने तयारीमा करिब दुईदेखि तीन सय गाडी पाइपलाइनमा रहेको कम्पनी पक्षले जनाएको छ। त्यसमध्ये केही कोरला क्षेत्रमा रोकिएका छन्।

यी संख्या जोडेर हेर्दा समस्या कुनै एउटा आयातकर्ताको होइन भन्ने स्पष्ट हुन्छ।

कम्पनीअनुसार रोकिएका गाडीको संख्या फरक छ। केही कम्पनीका दर्जनौं छन्, केहीका सयौं छन्, केहीका हजारभन्दा बढी बुकिङ छन्। तर ती सबैलाई जोड्ने एउटै कडी हो, चीनबाट नेपाल आउने आपूर्ति मार्ग।

दशैंको ४० प्रतिशत बजार जोखिममा

नेपालको अटोमोबाइल व्यवसायमा दशैं–तिहार केवल चाडपर्व होइन, वर्षको सबैभन्दा महत्वपूर्ण बिक्री सिजन हो।

व्यवसायीहरूले लामो समयदेखि वर्षभरको कुल सवारी बिक्रीमध्ये करिब ३० देखि ४० प्रतिशतसम्म दशैं-तिहार आसपास हुने बताउँदै आएका छन्। विगतमा पनि अटो व्यवसायीहरूले यही समयलाई वार्षिक बिक्रीको ठूलो हिस्सा आउने अवधि भन्दै आएका थिए।

यसको व्यवसायिक अर्थ निकै ठूलो छ। यदि कुनै कम्पनीले वर्षभरमा सय गाडी बेच्ने लक्ष्य राख्छ भने करिब ३० देखि ४० वटा गाडी यही सिजनमा बिक्री हुने अपेक्षा गर्न सक्छ। त्यसमा अटो शोको बुकिङले ठूलो भूमिका खेल्छ।

अटो शोमा ग्राहकले बुकिङ गर्छ। कम्पनीले आयातको योजना बनाउँछ। बैंकले कर्जा प्रक्रिया अघि बढाउँछ। भन्सारले राजस्व संकलन गर्छ। डिलरले गाडी स्टकमा ल्याउँछ र ग्राहकले दशैंअघि गाडी बुझ्छ।

यही चक्रबाट अटोमोबाइलको मौसमी कारोबार चल्छ। अहिले यही चक्रको बीचमा सडक रोकिएको छ।

त्यसैले सडक खुल्न ढिला हुँदा असर एक दिनको ढुवानीमा मात्र सीमित हुँदैन। एक चरणको बिक्री अर्को चरणमा धकेलिन्छ। ग्राहकको नगद भुक्तानीको समय बदलिन्छ। बैंकको कर्जा वितरण पछि सर्छ। डिलरको स्टक व्यवस्थापन बदलिन्छ।

आयातकर्ताले विदेशमा भुक्तानी गरिसकेको गाडी नेपालमा आएर बिक्री हुन ढिला हुन्छ।

यसले कार्यशील पुँजीमा दबाब बढाउँछ। अटोमोबाइल व्यवसाय पूरै नगदमा चल्ने व्यवसाय होइन। आयात, भन्सार, ढुवानी, स्टक, बैंकिङ र ग्राहक कर्जा एकअर्कासँग जोडिएका हुन्छन्।

गाडी बाटोमा रोकिँदा व्यवसायीले त्यसको लागत भने बोकिरहेका हुन्छन्। विदेशी आपूर्तिकर्तालाई भुक्तानी भइसकेको हुन सक्छ। भन्सारमा प्रक्रिया पूरा भएको हुन सक्छ। ढुवानी लागत लागिसकेको हुन्छ। बीमा र अन्य कागजी प्रक्रिया अघि बढिसकेको हुन सक्छ।

तर अन्तिम बिक्री र ग्राहकबाट आउने नगद भने ढिलो हुन्छ। यसलाई वित्तीय भाषामा कार्यशील पुँजीको चक्र लम्बिनु भन्न सकिन्छ। अहिले यही जोखिम अटोमोबाइल व्यवसायमा देखिएको छ।

ध्रुव थापाका अनुसार सडक अवरोध लामो समयसम्म रह्यो भने ग्राहकले पुरानो गाडी बेच्ने योजना पछि सार्न सक्छन्, नयाँ गाडी खरिद स्थगित गर्न सक्छन् वा उपलब्ध स्टकमा रहेको अर्को मोडल रोज्न सक्छन्।

यसले बजारको माग नै केही समयका लागि कमजोर बनाउन सक्छ।

ग्राहकले गाडी किन्न चाहेको छ, तर गाडी उपलब्ध छैन भने बिक्री हुने सम्भावना तत्काल कारोबारमा रूपान्तरण हुँदैन। त्यसैले बुकिङ र बिक्री एउटै कुरा होइन।

बुकिङले माग देखाउँछ। डेलिभरीले कारोबार पूरा गर्छ। अहिले नेपालमा अटोमोबाइल बजारको ठूलो हिस्सा पहिलो र दोस्रो चरणबीच अड्किएको छ।

एउटा नाकाको समस्या, अर्को नाकाको विकल्प पनि कमजोर

कोरला अहिले चीनबाट नेपाल आउने सवारीसाधन र व्यापारिक सामानका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो।

यसअघि रसुवागढी र तातोपानी क्षेत्रमा बाढीपहिरो तथा सडक अवरोधले उत्तरी व्यापारमा समस्या सिर्जना गरेपछि कोरला मार्गको महत्व बढेको थियो।

तर अहिले कोरला आफैं प्रभावित भएपछि आयातकर्ताले वैकल्पिक मार्ग खोज्ने ठाउँ साँघुरिएको छ। यही कारण अहिलेको संकटलाई एउटा सडकको अवरोध भनेर मात्र बुझ्न मिल्दैन। नेपालको उत्तरी व्यापारिक पूर्वाधारमा वैकल्पिकता कमजोर रहेको विषय फेरि सतहमा आएको छ।

एउटा नाका अवरुद्ध हुँदा अर्को नाका प्रयोग गर्न सकिने व्यवस्था हुनुपर्छ। तर एकै समय विभिन्न उत्तरी मार्ग प्रभावित हुँदा त्यसको असर तत्कालै आयात, व्यापार र बजारमा पुग्छ। अटोमोबाइल व्यवसायमा यो अझ संवेदनशील हुन्छ।

गाडी सामान्य सामानजस्तो ट्रकमा राखेर जुनसुकै बाटोबाट पठाउन मिल्दैन। गाडीको आकार, ढुवानी लागत, सडकको क्षमता, भन्सार प्रक्रिया र नाकाबीचको दूरी सबैले आयात लागत र समय निर्धारण गर्छ।

तातोपानी वा अन्य मार्गबाट केही गाडी मोड्ने सम्भावना भए पनि त्यसका लागि नाका सञ्चालनमा आउनुपर्छ। त्यसपछि पनि नयाँ रुटमा ढुवानी लागत, दूरी र समय फरक पर्न सक्छ।

व्यवसायीले तत्काल बिक्री बचाउन वैकल्पिक बाटो खोज्न सक्छन्, तर त्यसको मूल्य अन्ततः ग्राहकले पनि तिर्नुपर्ने हुन सक्छ। यही कारण सडक पूर्वाधारलाई अटोमोबाइल बजारको बाहिरी विषय भनेर हेर्न मिल्दैन।

सडक राम्रो छ भने गाडीको डेलिभरी समय घट्छ। डेलिभरी समय घट्यो भने स्टक लागत घट्छ। स्टक लागत घट्यो भने व्यवसायीको नगद चक्र छिटो हुन्छ। नगद चक्र छिटो भयो भने थप आयात र बिक्री सम्भव हुन्छ।

अर्थात् सडक अटोमोबाइल व्यापारको प्रत्यक्ष लागत संरचनासँग जोडिएको छ।

गाडी मात्रै होइन, मुस्ताङको आपूर्ति पनि रोकियो

कोरला क्षेत्रमा रोकिएको व्यापारिक गतिविधि अटोमोबाइलमा मात्र सीमित छैन। चीनबाट नेपालतर्फ आउने कन्टेनर, फलफूल, उपभोग्य वस्तु, औद्योगिक सामग्री तथा मुस्ताङका लागि आवश्यक खाद्यान्नलगायतका सामग्रीसमेत सडक अवरोधका कारण प्रभावित भएका छन्।

यसले कोरला नाकामा देखिएको समस्या सवारीसाधन आयातको मात्र नभई समग्र व्यापारिक आपूर्ति शृंखलामाथिको दबाब भएको स्पष्ट पार्छ।

सडक अवरोधका कारण चीनबाट नेपालतर्फ आउने सामानको नियमित प्रवाह प्रभावित भएको छ भने मुस्ताङतर्फ आवश्यक दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या देखिएको छ।

विशेषगरी नाशवान प्रकृतिका फलफूल तथा अन्य संवेदनशील सामग्री लामो समय सडकमा रोकिँदा व्यापारीको प्रत्यक्ष क्षति बढ्ने जोखिम छ। आपूर्ति लामो समय अवरुद्ध भए स्थानीय बजारमा वस्तुको उपलब्धता घट्ने र त्यसको असर मूल्य तथा उपभोक्ता खर्चमा समेत पर्न सक्ने अवस्था छ।

यसकारण कोरला नाकामा रोकिएका हजारौं सवारीसाधन अहिले देखिएको संकटको एउटा हिस्सा मात्र हुन्।

वास्तविक समस्या चीन-नेपाल व्यापारसँग जोडिएको सम्पूर्ण आपूर्ति प्रणालीमा परेको अवरोध हो, जसको प्रभाव अटोमोबाइल बजारदेखि स्थानीय उपभोग, व्यवसायीको कार्यशील पुँजी, सरकारी राजस्व र उपभोक्ताको खरिद क्षमतासम्म पुग्न सक्छ।

सडक खुल्दैछ, तर समस्या सकिएको छैन

अहिले सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको सडक मर्मतको काम अघि बढ्नु हो। सडक विभागले असोज १४ गतेसम्मको सडक अवस्थाबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको थियो। त्यसपछि क्षतिग्रस्त खण्डमा मर्मत र मार्ग खोल्ने काम अघि बढेको छ।

कुनौटा क्षेत्रमा बाढीले करिब २५० मिटर सडक कटान गरेको स्थानमा मार्ग छिचोलिएको पछिल्लो विवरण आएको छ। यसले बेनी–जोमसोम–कोरला मार्ग पुनः सञ्चालनतर्फ गएको संकेत गर्छ।

तर सडकको एउटा खण्ड खुलेर मात्रै हजारौं गाडी तत्काल काठमाडौं आइपुग्दैनन्।

पहिले सडक पूर्ण रूपमा सुरक्षित हुनुपर्छ। त्यसपछि बाटोमा रोकिएका गाडीको व्यवस्थापन गर्नुपर्छ। भन्सार यार्डमा रहेका गाडी र कन्टेनर क्रमशः निकाल्नुपर्छ। चीनतर्फ रोकिएका गाडीको आवागमन सुरु गर्नुपर्छ। त्यसपछि जोमसोम, बेनी हुँदै काठमाडौंसम्मको ढुवानी चक्र चलाउनुपर्छ।

अर्थात् सडक खुल्नु पहिलो चरण हो। सामान बजारमा पुग्नु दोस्रो चरण हो। ग्राहकलाई गाडी हस्तान्तरण हुनु तेस्रो चरण हो। त्यसैले व्यवसायीले सडक खुलेको समाचारलाई मात्र पर्याप्त राहत मान्न सक्ने अवस्था छैन।

उनीहरूको वास्तविक राहत गाडी सोरुममा पुगेपछि मात्र सुरु हुन्छ। यही कारण अहिले अटोमोबाइल व्यवसायीको नजर सडक विभागको मर्मत प्रगतिमा मात्र होइन, कोरला भन्सार, चीनतर्फको सवारी चाप र तलतर्फको ढुवानी क्षमतामा पनि छ।

भन्सार विभागले कोरला नाका सक्रिय बनाउन तथा आवश्यक सहजीकरणका लागि पहल भइरहेको जनाएको छ। चीनतर्फ पनि समन्वय आवश्यक रहेको सरकारी पक्षको भनाइ छ।

व्यवसायीका लागि अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता एउटा स्पष्ट समयतालिका हो। सडक कहिले पूर्ण रूपमा सञ्चालन हुन्छ, रोकिएका गाडी कहिलेदेखि तल झर्न थाल्छन् र दशैंअघि कति गाडी ग्राहकसम्म पुर्‍याउन सकिन्छ भन्ने विषय स्पष्ट नभएसम्म कम्पनीहरूले ग्राहकलाई निश्चित डेलिभरी मिति दिन कठिन हुन्छ।

ग्राहकको दशैं, कम्पनीको नगद प्रवाह

अटोमोबाइल व्यवसायको संकट अन्ततः ग्राहकको घरसम्म पुग्छ। अटो शोमा गाडी बुक गर्ने ग्राहकले बुकिङ रकम बुझाएको हुन सक्छ। कतिपयले ऋणका लागि बैंकसँग प्रक्रिया अघि बढाएका हुन सक्छन्। कतिपयले पुरानो गाडी बेच्ने योजना बनाएका हुन सक्छन्।

अब नयाँ गाडी समयमा नआए उनीहरूको पूरा वित्तीय योजना बदलिन्छ। गाडीको मूल्य, ब्याजदर, बीमा, कर, पुरानो गाडीको बिक्री र नयाँ गाडीको डेलिभरी एकअर्कासँग जोडिएका हुन्छन्।

बुकिङ रद्द गर्ने अवस्था आएमा कम्पनीले रकम फिर्ता गर्नुपर्ने हुन सक्छ। ग्राहकले स्टकमा उपलब्ध अर्को गाडी रोजेमा मोडल परिवर्तन हुन्छ। मूल्य फरक भए थप रकम वा नयाँ कर्जा संरचना आवश्यक हुन सक्छ।

यसले ग्राहक अनुभवलाई पनि असर गर्छ। अटोमोबाइल व्यवसायमा ग्राहकले ठूलो रकम खर्च गर्छ। त्यसैले डेलिभरी समय केवल सुविधा होइन, कारोबारको महत्वपूर्ण हिस्सा हो।

अटो शोमा कम्पनीले आकर्षक मूल्य, छुट, बीमा, कर र अन्य अफर दिएर ग्राहक तानेको हुन्छ। ग्राहकले पनि त्यही आधारमा निर्णय गरेको हुन्छ।

तर सडक अवरोधपछि कम्पनीले आफ्नो प्रत्यक्ष नियन्त्रणभन्दा बाहिरको समस्याका कारण डेलिभरी ढिलाइ गर्नुपरेको छ। यसले कम्पनी र ग्राहकबीचको सम्बन्धमा दबाब बढाउन सक्छ।

व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो चुनौती ग्राहकलाई वास्तविक अवस्था बुझाउनु हो। गाडी उत्पादन भइसकेको छ, आयातको प्रक्रिया पूरा भएको हुन सक्छ र भन्सारसमेत पूरा भएको हुन सक्छ। तर ग्राहकसम्म पुग्न नसक्दा कारोबारको अन्तिम चरण पूरा भएको छैन।

यही कारण व्यवसायीहरू सडक खुल्ने समयलाई सबैभन्दा महत्वपूर्ण मानिरहेका छन्।

अब अटो बजारको हिसाब बदलिन्छ

नेपालको अटोमोबाइल बजार पछिल्ला वर्षमा विद्युतीय सवारीतर्फ तीव्र गतिमा विस्तार भएको छ। चिनियाँ ब्रान्डको प्रवेश, नयाँ मोडल, प्रतिस्पर्धी मूल्य र प्रविधिका कारण ग्राहकको विकल्प बढेको छ।

यस वर्षका दुई ठूला अटो शोमा पनि यही प्रवृत्ति देखियो। नाइमा एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी थियो। नाडा अटो शोमा ५३ वटा सवारी ब्रान्ड सहभागी भए।

अर्थात् नेपाली अटो बजार अब सीमित ब्रान्डको बजार रहेन। ग्राहकसँग विकल्प धेरै छन्। तर आपूर्ति मार्ग भने अझै सीमित छन्। यही विरोधाभास अहिलेको संकटले देखाएको छ।

बजारमा ५० भन्दा बढी ब्रान्ड हुन सक्छन्। तर तीमध्ये धेरैको आपूर्ति एउटै वा सीमित उत्तरी नाकाबाट आउँछ भने एउटा सडक अवरोधले धेरै ब्रान्डलाई एकैपटक असर गर्छ। यो व्यवसायका लागि संरचनागत जोखिम हो।

आयातकर्ताले यसबाट एउटा ठूलो पाठ लिनुपर्ने अवस्था आएको छ। स्टक रणनीति, वैकल्पिक नाका, डेलिभरी समय, स्थानीय भण्डारण, कार्यशील पुँजी र ग्राहकसँगको सम्झौतालाई अब सामान्य अवस्थाभन्दा फरक ढंगले व्यवस्थापन गर्नुपर्ने देखिएको छ।

विशेषगरी दशैं–तिहारजस्तो उच्च माग हुने समयमा कम्पनीहरूले केवल बिक्रीको लक्ष्य राखेर पुग्दैन। आपूर्ति जोखिमको पनि मूल्यांकन गर्नुपर्छ। अटो शोमा बुकिङ बढ्नु राम्रो संकेत हो। तर बुकिङअनुसार गाडी ल्याउन नसक्नु व्यवसायका लागि जोखिम हो।

त्यसैले आगामी वर्षका अटो शोमा ग्राहक आकर्षित गर्ने रणनीतिसँगै आपूर्ति सुनिश्चित गर्ने रणनीति पनि उत्तिकै महत्वपूर्ण हुनेछ।

नाकामा रोकिएको गाडीले देखाएको ठूलो कमजोरी

कोरला नाकामा रोकिएका हजारौं गाडी अहिले एउटा तत्कालीन संकटको प्रतीक बनेका छन्। तर यसको पछाडि नेपालको व्यापारिक पूर्वाधारको ठूलो कमजोरी पनि देखिएको छ।

चीनसँगको व्यापार बढिरहेको छ। विद्युतीय सवारीको आयात विस्तार भइरहेको छ। नयाँ ब्रान्ड नेपालमा प्रवेश गरिरहेका छन्। ग्राहकको माग बढिरहेको छ। अटो शोको आकार बढिरहेको छ।

तर सामान ल्याउने सडक प्राकृतिक विपत्तिमा पटकपटक अवरुद्ध हुन्छ। यसले व्यापारको लागत बढाउँछ, व्यवसायीको जोखिम बढाउँछ, सरकारी राजस्व प्रभावित गर्छ र अन्ततः उपभोक्ताको लागत बढाउन सक्छ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड २०२ किलोमिटरको रणनीतिक उत्तर–दक्षिण सडक हो। सडक विभागले यसलाई राष्ट्रिय राजमार्ग NH-048 का रूपमा राखेको छ र यो राष्ट्रिय गौरवको आयोजना हो।

यति महत्वपूर्ण व्यापारिक मार्गमा एउटा विपत्तिपछि लामो समयसम्म आपूर्ति रोकिँदा सडकको गुणस्तर मात्र होइन, वैकल्पिक व्यापारिक पूर्वाधारको आवश्यकता पनि देखिन्छ।

नेपालले चीनसँगको व्यापार बढाउने हो भने नाका खोल्नु मात्र पर्याप्त हुँदैन। नाका जोड्ने सडक वर्षभर सञ्चालनयोग्य हुनुपर्छ। भन्सारको क्षमता पर्याप्त हुनुपर्छ। भण्डारणको व्यवस्था हुनुपर्छ। सवारी पार्किङ र व्यवस्थापनको संरचना हुनुपर्छ। आपत्कालीन अवस्थामा वैकल्पिक मार्ग हुनुपर्छ।

सबैभन्दा महत्वपूर्ण, भन्सार र सडक प्रणालीबीच प्रभावकारी समन्वय हुनुपर्छ। अहिले कोरला क्षेत्रमा भन्सारले काम गर्न सक्छ, तर सडकले साथ दिएको छैन।

यस्तो अवस्थामा कुनै पनि व्यापारिक प्रणाली पूर्ण रूपमा प्रभावकारी हुँदैन। भन्सार विभागले २०८३/८४ देखि २०८७/८८ सम्मको भन्सार सुधार तथा आधुनिकीकरण योजना अघि सारेको छ। भन्सार आधुनिकीकरणसँगै त्यसलाई जोड्ने भौतिक पूर्वाधार पनि समान गतिमा बलियो बनाउनुपर्ने अहिलेको घटनाले देखाएको छ।

दशैंअघि डेलिभरी भए बजार जोगिन्छ

अब अटोमोबाइल बजारको तत्कालीन भविष्य सडकको गतिसँग जोडिएको छ।

यदि क्षतिग्रस्त सडक खण्ड छिटो मर्मत भएर पूर्ण रूपमा सञ्चालन भयो भने अहिले रोकिएका गाडी क्रमशः बजारमा आउन सक्छन्। दशैंअघि केही डेलिभरी सम्भव हुन सक्छ। त्यसले व्यवसायीको बिक्री लक्ष्यमा परेको धक्का केही कम गर्न सक्छ।

तर सडक सञ्चालन ढिलो भयो भने अटो शोको बुकिङको ठूलो हिस्सा दशैंपछि धकेलिन सक्छ। त्यसको असर तिहारसम्म पुग्न सक्छ। त्यसपछि वर्षको अन्तिम त्रैमासिकमा कम्पनीहरूले बिक्री लक्ष्य पूरा गर्न थप छुट, वित्तीय योजना वा एक्सचेन्ज अफर ल्याउन सक्छन्।

ग्राहकका लागि यो अवसर पनि हुन सक्छ। तर कम्पनीका लागि भने मार्जिनमा दबाब आउन सक्छ। अटोमोबाइल व्यवसायमा धेरै कम्पनी प्रतिस्पर्धामा छन्। बजारमा एउटै ग्राहकका लागि धेरै ब्रान्डबीच प्रतिस्पर्धा छ। यस्तो अवस्थामा डेलिभरी ढिलो हुँदा ग्राहक अर्को ब्रान्डतर्फ सर्न सक्छ।

अझै पनि अहिलेको समस्या सामान्य बजार प्रतिस्पर्धाभन्दा फरक छ।

ग्राहकले ब्रान्ड बदल्न खोजे पनि अर्को ब्रान्डको गाडी पनि त्यही सडकमा अड्किएको हुन सक्छ। त्यसैले अहिले सबैभन्दा ठूलो प्रतिस्पर्धा ब्रान्डबीच होइन, आपूर्ति सुनिश्चित गर्ने क्षमताबीच भइरहेको छ।

जसले गाडी पहिले ल्याउन सक्छ, उसैले ग्राहकलाई पहिले डेलिभरी दिन सक्छ। जसले ग्राहकलाई स्पष्ट जानकारी दिन सक्छ, उसले बुकिङ जोगाउन सक्छ। जसले स्टक व्यवस्थापन गर्न सक्छ, उसले दशैंको बिक्री जोगाउन सक्छ।

र जसले वैकल्पिक आपूर्ति मार्ग पहिल्यै तयार राखेको छ, उसले भविष्यका यस्ता जोखिम कम गर्न सक्छ।

संकटले दिएको संकेत

कोरला क्षेत्रमा रोकिएका गाडीको संख्या अहिले हजारौंको स्तरमा रहेको अनुमान छ। भन्सारमा १२ सयभन्दा बढी ईभी जाँचपासको प्रतीक्षामा रहेको र जाँचपास भएर तल झरिसकेका ८ देखि ९ सय गाडी सडकमा रोकिएको विवरणले संकटको आकार देखाउँछ।

चीनतर्फ रहेका गाडीको संख्या अझै यकिन छैन। कोरला क्षेत्रमा रोकिएको व्यापारिक गतिविधि अटोमोबाइलमा मात्र सीमित छैन। चीनबाट नेपालतर्फ आउने कन्टेनर, फलफूल, उपभोग्य वस्तु, औद्योगिक सामग्री तथा मुस्ताङका लागि आवश्यक खाद्यान्नलगायतका सामग्रीसमेत सडक अवरोधका कारण प्रभावित भएका छन्।

विशेषगरी नाशवान प्रकृतिका वस्तु लामो समय सडकमा रोकिँदा व्यापारीको प्रत्यक्ष क्षति बढ्ने जोखिम छ भने आपूर्ति लामो समय अवरुद्ध हुँदा स्थानीय बजारमा वस्तुको उपलब्धता र मूल्यमा समेत असर पर्न सक्छ।

यसरी हेर्दा कोरला नाकामा रोकिएका हजारौं सवारीसाधन अहिले देखिएको संकटको एउटा हिस्सा मात्र हुन्। वास्तविक समस्या चीन–नेपाल व्यापारसँग जोडिएको सम्पूर्ण आपूर्ति प्रणालीमा परेको अवरोध हो, जसको प्रभाव अटोमोबाइल बजारदेखि स्थानीय उपभोग, व्यवसायीको कार्यशील पुँजी, सरकारी राजस्व र उपभोक्ताको खरिद क्षमतासम्म पुग्न सक्छ।

सडक खुल्नेबित्तिकै ती सबै गाडी र सामान एकैपटक बजारमा आइपुग्दैनन्। पहिले रोकिएको स्टक व्यवस्थापन गर्नुपर्नेछ। चीनतर्फ रोकिएको नयाँ सामानको प्रवाह मिलाउनुपर्नेछ। भन्सारको काम बढ्न सक्छ। सडकमा एकैपटक सवारी चाप बढ्न सक्छ।

त्यसैले सडक सञ्चालनपछि पनि केही समयसम्म आपूर्ति प्रणालीलाई सामान्य अवस्थामा फर्काउन व्यवस्थापन आवश्यक हुनेछ।

अटोमोबाइल कम्पनीहरूले अहिले यही समयको प्रतीक्षा गरिरहेका छन्। ग्राहकहरू पनि त्यही प्रतीक्षामा छन्। बैंकहरू पनि यही कारोबार चक्रको प्रतीक्षामा छन्। सरकार पनि भन्सार राजस्व र व्यापारिक गतिविधि सामान्य हुने प्रतीक्षामा छ।

सडक खुल्यो भने गाडी चल्नेछन्। गाडी चले भने डेलिभरी हुनेछ। डेलिभरी भयो भने बुकिङ बिक्रीमा रूपान्तरण हुनेछ। बिक्री भयो भने व्यवसायीको नगद प्रवाह चल्नेछ। नगद प्रवाह चल्यो भने आयात र बजारको चक्र फेरि गति लिनेछ।

त्यसैले अहिलेको सबैभन्दा ठूलो आर्थिक प्रश्न गाडी कति रोकिए भन्ने मात्र होइन, रोकिएको आपूर्ति चक्र कति छिटो चलाउन सकिन्छ भन्ने हो।

अटो शोमा हजारौं ग्राहकले गरेको बुकिङले बजारमा माग छ भन्ने प्रमाण दिइसकेको छ। नाइमा र नाडा दुवै प्रदर्शनीले नयाँ ब्रान्ड, नयाँ प्रविधि र नयाँ मोडलप्रति ग्राहकको आकर्षण देखाइसकेका छन्।

अब बजारलाई चाहिएको अर्को कुरा माग होइन, आपूर्ति हो। चीनबाट गाडी आउन तयार छन्। भन्सार जाँचपास गर्न तयार छ। व्यवसायी ग्राहकलाई डेलिभरी दिन तयार छन्। ग्राहक गाडी लिन तयार छन्।

बीचमा रोकिएको छ एउटा सडक।

त्यही सडकले अहिले दशैंको अटोमोबाइल बजारको गति निर्धारण गरिरहेको छ। यसपटकको बाढीपहिरोले नेपाललाई फेरि एउटा पुरानो तथ्य सम्झाएको छ। व्यापारिक नाका बलियो हुनु मात्र पर्याप्त हुँदैन, नाकासम्म पुग्ने र नाकाबाट बजारसम्म झर्ने सडक पनि भरपर्दो हुनुपर्छ।

अटोमोबाइल बजारमा यो संकटको तत्कालीन असर दशैंको डेलिभरीमा देखिएला। दीर्घकालीन असर भने नेपालको व्यापारिक आपूर्ति संरचनामा देखिनेछ।

यदि सडक खुलेर गाडी समयमै बजारमा आए भने अहिलेको समस्या एउटा अस्थायी अवरोधमा सीमित हुनेछ। यदि सडक खुले पनि यस्तै जोखिम दोहोरिरहने हो भने यो एउटा कम्पनी वा एउटा दशैंको समस्या रहने छैन।

त्यसपछि प्रश्न अटोमोबाइलको मात्र हुनेछैन।

नेपालले बढ्दो चीन-नेपाल व्यापारलाई कति भरपर्दो पूर्वाधार दिन सक्छ भन्ने हुनेछ। अहिले कोरला नाकामा रोकिएका हजारौं गाडी त्यसैको प्रत्यक्ष संकेत बनेका छन्।

2