काठमाडौं । डीएचआई ब्रान्डका विद्युतीय घरायसी सामग्री बिक्री गर्ने डिजिटल होम इन्टरनेशनलको व्यापार सन् २०२६ मा ५९ प्रतिशतले बढेको छ। कम्पनीले उक्त वर्ष ५९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष सन् २०२५ मा कम्पनीको व्यापार ३७ करोड ५० लाख रुपैयाँ थियो।
सन् २०२४ मा भने कम्पनीले ८९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। पछिल्लो वर्ष व्यापारमा सुधार आए पनि कम्पनीको कारोबार सन् २०२४ को तुलनामा भने कम छ। कम्पनीका अनुसार माग बढ्दा सन् २०२६ मा कारोबार विस्तार भएको हो।
व्यापार बढेसँगै कम्पनीको सञ्चालन मार्जिनमा पनि सामान्य सुधार आएको छ। सन् २०२५ मा ९.३३ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा बढेर ९.४१ प्रतिशत पुगेको छ। त्यस्तै, कम्पनीले सन् २०२६ मा १.०८ प्रतिशत खुद नाफा कमाएको छ। सन् २०२५ मा भने कम्पनी घाटामा थियो।
कम्पनीको वित्तीय संरचना अझै ऋणमा निर्भर छ। सन् २०२५ मा ३.७९ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा घटेर ३.३३ गुणा कायम भएको छ। त्यस्तै, कुल ऋण तथा ग्रस क्यास एक्रुअल अनुपात ३५ गुणा पुगेको छ। अघिल्लो वर्ष यो अनुपात नकारात्मक थियो।
कम्पनीको ब्याज तिर्न सक्ने क्षमतामा पनि सुधार आएको छ। सन् २०२५ मा ०.७५ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा बढेर १.३१ गुणा पुगेको छ।
सन् २०१८ मा स्थापना भएको डिजिटल होम इन्टरनेशनलले सेटटप बक्स उत्पादन गर्नुका साथै विद्युतीय घरायसी सामग्रीको एसेम्बलिङ र बिक्री गर्दै आएको छ। कम्पनीले उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, चीनलगायतका देशबाट आयात गर्छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ६९ करोड २० लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जातर्फ १९ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ ४९ करोड ५० लाख रुपैयाँ रहेको छ।
कम्पनीका अध्यक्ष सुदीप आचार्य हुन्। उनी डिस मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक हुन्। आचार्य कामना सेवा विकास बैंक र आरएम इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षसमेत हुन्।
