काठमाडौं । दशैंलाई लक्षित गर्दै नबिल बैंकले सर्वसाधारणका लागि साना दरका नयाँ तथा सुकिला नोट सटही गर्ने भएको छ। बैंकले असोज २७ देखि २९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका शाखाबाट नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्थाअन्तर्गत नबिल बैंकले काठमाडौं उपत्यकाका पाँच शाखा तोकेको हो।
बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट नोट सटही गर्न सकिनेछ। त्यस्तै, ललितपुरको च्यासल शाखा र भक्तपुरको दुवाकोट शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ।
तोकिएका पाँच शाखाबाट मात्रै नोट वितरण हुने भएकाले सर्वसाधारणले निर्धारित समयभित्र सम्बन्धित शाखामा पुगेर सेवा लिन सक्नेछन्। दशैंमा दक्षिणा तथा अन्य प्रयोजनका लागि साना दरका नोट आवश्यक पर्ने भएकाले बैंकले सटहीको व्यवस्था मिलाएको हो।
