काठमाडौं । एनएमबी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तारका लागि र्यापिड टेक प्रालिसँग सहकार्य गर्ने सम्झौता गरेको छ । नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त सम्झौता गरेको हो ।
व्यावसायिक संस्थाहरूले दैनिक प्रयोग गर्ने सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको बैंकले जनाएको छ ।
सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै व्यावसायिक प्रणालीबाट रकम भुक्तानी, हिसाब मिलान तथा अन्य बैंकिङ कारोबार तत्काल गर्न सक्नेछन् ।
त्यसैगरी, साना तथा मझौला व्यवसायीले व्यापारिक केन्द्र र विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी गरिएको यस सुविधाले बैंकिङ कारोबारमा लाग्ने समय घटाउनुका साथै अनावश्यक प्रक्रियागत झन्झट कम गर्ने अपेक्षा गरिएको छ । यसबाट व्यावसायिक संस्थाहरूको वित्तीय कारोबार थप सरल र प्रभावकारी हुने बैंकको विश्वास छ ।
