गण्डकी । पोखरा, चितवन र लुम्बिनीलाई एउटै पर्यटकीय सञ्जालमा जोडेर पर्यटन प्रवर्द्धन गर्ने अभियान अघि बढाइएको छ। पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामार्फत तीनवटै गन्तव्यको संयुक्त प्रचारप्रसार, पर्यटकीय प्याकेज विकास र व्यवसायिक सहकार्य विस्तार गर्न लागेका हुन्। यसका लागि तीन स्थानीय तहबीच भएको समझदारी कार्यान्वयनमा अग्रसरता लिइएको छ।
यसैक्रममा भरतपुर महानगरपालिकाले सोमबार सरोकारवालासँग अन्तरक्रिया गर्दै पर्यटन प्रवर्द्धनका लागि सुझाव सङ्कलन र आगामी कार्ययोजनाबारे छलफल गरेको छ। कार्यक्रममा तीनवटै स्थानीय तहका जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटन व्यवसायीले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने बताए। पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीनवटै सहरको अर्थतन्त्र समृद्ध बनाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए। गत जेठमा भएको समझदारीअनुसार कार्यक्रमलाई महानगरको नीति, योजना तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिए।
आचार्यले व्यवसायदेखि व्यवसाय (बीटुबी) र सरकारदेखि सरकार (जीटुजी) सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। नेपाल आउने पर्यटकले पोखरा, चितवन र लुम्बिनीलाई एउटै यात्रामा समेट्न सक्ने गरी यातायात सम्पर्क र पर्यटकीय सेवासुविधा विस्तार गर्नुपर्ने उनको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहन गर्नुपर्ने बताइन्। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्नसमेत सबै पक्षले पहल गर्नुपर्ने उनको धारणा छ।
पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा परेको असर कम गर्न नेपाल खुला र सुरक्षित गन्तव्य रहेको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने उनले उल्लेख गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी योजना बनाउनुपर्ने बताए। चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीनवटै गन्तव्यबीच व्यावसायिक सञ्जाल र संयुक्त प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने बताए। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीनवटै गन्तव्य नेपालको पहिचानसँग जोडिएकाले तिनको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताए। उनले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला अर्थात् ट्राभल मार्ट आयोजना गरिने जानकारी दिए।
गत जेठ २६ गते तीन स्थानीय तहबीच भएको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो पर्यटन मेला आयोजना गर्ने, आवश्यकताअनुसार बीटुबी तथा जीटुजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान चलाउने उल्लेख छ।
समझदारीअनुसार संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिनेछ। पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउन डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यसैक्रममा भरतपुर महानगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको डिजिटल सूचना बोर्डको सोमबार शुभारम्भ गरिएको छ।
तीनवटै स्थानीय तहले पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी र स्थानीय समुदायबीच सहकार्य विस्तार गर्ने योजना बनाएका छन्। सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गरिने समझदारीमा उल्लेख छ।
पोखराको साहसिक पर्यटन, चितवनको वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटन र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई एउटै प्याकेजमा समेट्ने लक्ष्य राखिएको छ। संयुक्त प्याकेज, प्रचारप्रसार र व्यावसायिक साझेदारीमार्फत पर्यटकको बसाइ लम्ब्याउने तथा तीनवटै गन्तव्यमा पर्यटनबाट हुने आम्दानी विस्तार गर्ने अपेक्षा गरिएको छ।
