काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ।
साउनमा २ हजार ४६९, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । तीन महिनाको कुल तीर्थालु संख्यामध्ये आधाभन्दा बढीले असोज महिनामा दर्शन गरेका हुन् । तीर्थालुको आगमनसँगै मन्दिरमा संकलित भेटी रकम पनि बढेको छ ।
साउनमा ३ लाख १८ हजार ५००, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।
पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा दर्शन गर्न आउने तीर्थालुको संख्या र संकलित भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

