काठमाडौं: कामदारको अभाव र बढ्दो ज्यालाका कारण कपिलवस्तुका किसान धान दाइँ गर्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका छन्। परम्परागत विधिमा धेरै समय र खर्च लाग्ने भएपछि किसानले धान र पराल छुट्याउन मेसिनको सहारा लिन थालेका हुन्।
कपिलवस्तु नगरपालिका-६ थुम्हवाका कृषक प्रभु धोवीले गाउँमा खेताला पाउन मुस्किल हुनुका साथै ज्याला पनि महँगो पर्ने भएकाले मेसिनको प्रयोग बढाएको बताए। उनले भने, थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ। त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ।
महाराजगञ्ज नगरपालिका-२ पडरियाका कृषक विनोद भुजका अनुसार गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा साना थ्रेसर मेसिन खेतसम्म लैजान र जुनसुकै समयमा चलाउन सहज छ। मेसिन सञ्चालक राकेश कुर्मीले धान र पराल छुट्याएबापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको जानकारी दिए। जिल्लामा यस्ता मेसिनको माग बढ्दै गएको छ। यद्यपि, केही किसानले आधुनिक प्रविधिले काम सहज बनाए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा यस वर्ष ६३ हजार ६४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। गत वर्ष जिल्लामा ६६ हजार २६५ हेक्टरमा धान खेती गरिएको थियो। जिल्लाका १० वटै स्थानीय तहका किसानले अहिले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गरिरहेका छन्।
