तनहुँ: बिहानको झिसमिसे उज्यालोसँगै तनहुँको मानुङकोटबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ। चिसो मौसमको सुरुआतसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
व्यास नगरपालिका-५ मा अवस्थित यो डाँडाबाट देखिने सूर्योदय, कुहिरोको दृश्य र हिमशृङ्खलाले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ। स्थानीय युवा अनिल अधिकारीका अनुसार पछिल्ला दिनमा दैनिक दुईदेखि तीन सयसम्म पर्यटक यहाँ पुग्ने गरेका छन्।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकको उपस्थिति बढ्दा स्थानीय होटल तथा व्यवसायमा पनि चहलपहल बढेको छ। स्थानीय व्यवसायी शैलेश सुनामले पर्यटकको आगमनले रोजगारी र आयआर्जनका अवसर सिर्जना गरेको बताए।
मानुङकोटसँग पौराणिक किंवदन्ती पनि जोडिएको छ। पराशर ऋषिले सत्यवतीसँग एकान्तमा बस्न कुहिरो उत्पन्न गराएको धार्मिक विश्वासका कारण दमौलीको कुहिरोलाई विशेष महत्त्वका साथ हेरिन्छ।
यसैबीच, व्यास नगरपालिकाले मानुङकोटलाई व्यवस्थित पर्यटकीय ग्रामका रूपमा विकास गर्न सात सय रोपनी जग्गामा एकीकरण आयोजना सञ्चालन गर्ने तयारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार यस आयोजनामार्फत सडक, खानेपानी र विद्युत्जस्ता पूर्वाधार व्यवस्थित गरिनेछ। पूर्वाधार विकाससँगै प्राकृतिक सौन्दर्य र मौलिकता जोगाउनु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। व्यवस्थित पूर्वाधार निर्माण भएमा मानुङकोट गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ।
