काठमाडौं । अछामको सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ । पटक–पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि सडक डिभिजन कार्यालय साँफेबगरले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो ।
२०७९ वैशाख १६ गते सम्झौता भएर सुरु भएको सडक निर्माणको काम २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम नसकिएपछि २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिएको थियो । तर, थपिएको समयसीमामा पनि निर्माण सम्पन्न हुन सकेन ।
ठेक्का तोडिँदासम्म सडक निर्माणको भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको छ । सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि कार्यालयले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो ।
१० किलोमिटर लामो सडक निर्माणको लागत अनुमान ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ थियो । ठेक्का तोडिएपछि सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।
यसैबीच, सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र परेका सडक तथा पुल निर्माणसम्बन्धी थप पाँचवटा रुग्ण ठेक्का पनि अन्त्य गरेको छ । कार्यालयमार्फत सन् २०७६ देखि काम अलपत्र परेका योजनाहरूको ठेक्का तोडिएको हो ।
ठेक्का अन्त्य गरिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।
