काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्ड प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी समझदारी भएको हो ।
समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले एथलीट ल्यान्डमा उपलब्ध सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस सहकार्यबाट ग्राहकलाई आर्थिक लाभ पुग्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।
डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै आएको सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो । बैंकले युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन दिन र सीआरएन नम्बर लिन सकिने सुविधा बैंकले सञ्चालनमा ल्याएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरेर नगद झिक्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि उपलब्ध छ ।
बैंकका प्रवक्ता एवं सूचना अधिकारी नारायण राज अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार सिटिजन्स बैंकले हाल ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ८२ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
