काठमाडौं: जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सबैमा आग्रह गरेको छ। बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम उच्च रहेको भन्दै प्रशासनले पदयात्रामा रोक लगाएको हो।
प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ।’
सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति बिहीबारदेखि लागू नहुने प्रशासनले जनाएको छ। साथै, ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकहरूलाई आफ्ना मातहतका पर्यटकहरूलाई यस विषयमा तत्काल सूचित गरिदिन प्रशासनले आग्रह गरेको छ।
