काठमाडौं: यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रतीक्षामा रहेका सेवाग्राहीको संख्या शून्यमा झरेको दाबी गरेको छ। लामो समयदेखि परीक्षा उत्तीर्ण गरेर पनि कार्ड नपाउने समस्या अन्त्य भएको विभागका निर्देशक तथा सूचना अधिकारी केशव खतिवडाले बताए।
खतिवडाका अनुसार प्राविधिक त्रुटि वा अपूर्ण विवरण भएका बाहेक अन्य सबै सेवाग्राहीले कार्ड पाइसकेका छन्। हाल लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको बढीमा एक साताभित्र कार्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। विभागले हालसम्म पुरानो र नयाँ प्रणाली गरी करिब ३० लाख कार्ड छापिसकेको जनाएको छ। विभागले २०८२ जेठ ८ गते सुरक्षण मुद्रण केन्द्रसँग कार्ड छाप्न सम्झौता गरेको थियो।
हाल कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका यातायात कार्यालयको कार्ड विभागले छाप्दै आएको छ भने मधेस र लुम्बिनी प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँग सोझै सम्झौता गरेका छन्। साउन १ गतेदेखि विभागले सबै प्रदेशका लागि नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ।
लाइसेन्स पर्खनेको संख्या शून्य भएको दाबी गरिए पनि यातायात कार्यालयहरूमा बिचौलियाको सक्रियता भने कायमै छ। अनलाइन प्रणाली भए पनि सेवाग्राहीलाई सहयोग गर्ने नाममा बिचौलियाहरूले कार्यालय वरपर नै केन्द्र खोलेर काम गरिरहेका छन्।
बागमती प्रदेशका सचिव दिपेन्द्र सुवेदीले नयाँ प्रणालीका ९० प्रतिशत समस्या समाधान भइसकेको बताउँदै कार्यालयमा बिचौलियाको प्रवेश निमिट्यान्न पार्न पहल भइरहेको जानकारी दिए। भक्तपुरस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले भने अनलाइन सेवा र क्युआर कोडको प्रयोगले कार्यालयमा बिचौलिया शून्य भएको दाबी गरे। सेवा प्रवाह थप सहज बनाउन बागमती सरकारले भक्तपुरको सल्लाघारीमा नयाँ कार्यालयसमेत स्थापना गरेको छ।
