काठमाडौं: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन्। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्रीबाहेक अन्य ६ प्रदेशका अर्थमन्त्री र सचिवहरू प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर पुगेका हुन्।
बैठकमा संविधानको मर्मअनुसार वित्तीय संघीयतालाई तीनै तहका सरकारसँग कसरी तादाम्य मिलाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ। यसका साथै वित्तीय संघीयता कार्यान्वयनको अवस्था, राजस्व परिचालन क्षमता, खर्चको आवश्यकता, स्रोतको न्यायोचित वितरण, खर्च गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिताका विषयमा पनि छलफल हुनेछ।
भेलामा प्रदेश सरकारहरूले गरेका असल अभ्यास र सिकाइका बारेमा पनि अनुभव आदानप्रदान गरिनेछ। छलफलबाट प्राप्त निष्कर्षहरूलाई आगामी दिनमा सातवटै प्रदेश सरकारका नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिने जानकारी दिइएको छ।
