काठमाडौं: सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा वातावरण मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा यो प्रक्रिया सुरु गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने तयारी गरेको छ। कम्पनीले नियमित रुपमा अन्य जिल्लाहरूमा पनि धान खरिद कार्य विस्तार गरिने जनाएको छ।
महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्नेछ। कुपन प्राप्त गरेका किसानले तोकिएको मितिमा कम्पनीको मापदण्डअनुसारको धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ। धान तौलने कार्य कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन हुनेछ। धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ र तोकिएको आवश्यक कागजातसहित उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ।
यसअघि असोज २१ गते कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो।
