काठमाडौँ। नेपाली बजारमा मोटरसाइकलको माग बढ्दै जाँदा वीरगन्ज नाकाबाट हुने आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा अनएसेम्बल्ड, विद्युतीय र तयारी मोटरसाइकलको आयात गत वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ६४ प्रतिशतले बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म तीन प्रकारका गरी ४१ हजार ४२५ थान मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको यही अवधिमा २९ हजार ९६१ थान मात्रै आयात भएका थिए । एक वर्षको अवधिमा आयात ११ हजार ४६४ थानले थपिएको हो ।
मोटरसाइकल आयातसँगै त्यसमा खर्च हुने विदेशी मुद्रा पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यी सवारीसाधन आयात गर्न ६ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात मूल्य करिब ४ अर्ब रुपैयाँ रहेको थियो ।
आयातको विवरण हेर्दा सबैभन्दा तीव्र विस्तार विद्युतीय मोटरसाइकलमा देखिएको छ । गत वर्ष साउनदेखि असोजसम्म २ हजार १९४ थान विद्युतीय मोटरसाइकल भित्रिएकोमा यस वर्ष सोही अवधिमा ८ हजार ८५० थान पुगेको छ । अर्थात् एक वर्षमै यसको आयात चार गुणाभन्दा बढी भएको छ ।
विद्युतीय मोटरसाइकलको आयात मूल्यसमेत २८ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यसले नेपाली बजारमा विद्युतीय दुईपांग्रे सवारीसाधनको उपस्थिति विस्तार हुँदै गएको देखाउँछ ।
यता, अनएसेम्बल्ड मोटरसाइकलको आयात पनि निरन्तर उकालो लागेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २४ हजार ९३९ थान आयात भएकोमा चालु आर्थिक वर्षमा ३० हजार ९४३ थान भित्रिएका छन् । परिमाणका आधारमा यसको आयात २४ प्रतिशतले बढेको हो ।
अनएसेम्बल्ड मोटरसाइकल आयातमा ४ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ । गत वर्ष यही अवधिमा ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बराबरका मोटरसाइकल आयात भएका थिए ।
तर तयारी मोटरसाइकलको आयात भने घटेको छ । गत वर्षको पहिलो तीन महिनामा २ हजार ८२८ थान आयात भएकोमा यस वर्ष १ हजार ६३२ थानमा सीमित भएको छ ।
नेपालमै मोटरसाइकल एसेम्बल गर्ने उद्योग तथा कम्पनीको गतिविधि बढ्नु पनि तयारी मोटरसाइकलको आयात घट्नुको एउटा कारण देखिएको छ । विभिन्न कम्पनीले भारतबाट पार्टपुर्जा ल्याएर नेपालमै एसेम्बल गरी बजारमा बिक्री गर्न थालेपछि पूर्ण तयारी अवस्थामा आउने मोटरसाइकलको आयातमा कमी आएको हो ।
समग्र तथ्यांकले नेपालमा मोटरसाइकल आयातको प्रवृत्ति परिवर्तन हुँदै गएको देखाउँछ । एकातिर विद्युतीय मोटरसाइकलको बजार विस्तार भइरहेको छ भने अर्कोतिर पार्टपुर्जा आयात गरी स्वदेशमै एसेम्बल गर्ने क्रमले पनि गति लिएको छ ।
