काठमाडौं । विश्वका ठूला व्यवसायिक सफलता प्रायः ठूलो पूँजी, उत्कृष्ट शिक्षा वा प्रभावशाली नेटवर्कबाट सुरु भएको देखिन्छ। ज्याक माको कथा त्यसको ठीक उल्टो छ। ज्याक मा चीनको इतिहासकै सबैभन्दा प्रभावशाली उद्यमीमध्ये एक हुन्। उनको आकर्षक व्यक्तित्व, स्पष्ट दृष्टिकोण र असाधारण नेतृत्व क्षमताले विश्वभरका मानिसलाई प्रभावित पारेको छ।
तर दर्जजनौं स्थानमा जागिरका लागि भौतारिएर एक अंग्रेजी शिक्षक बनेका उनी कसरी चीनका सबैभन्दा सफल व्यवसायिक नेतामध्ये एक बन्न पुगे भन्ने प्रश्नमै उत्तर भेट्टीन्छ असफलताबाट पाठ सिकेर अगाडी बढ्ने क्षमता।
डिसेम्बर २०१४ मा ५० वर्षको उमेरमै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका ज्याक माको सफलता असाधारण छ। यो कथा कुनै विरासतबाट प्राप्त सम्पत्ति वा सहज अवसरको होइन; शून्यबाट सुरु गरेर संघर्ष, असफलता र निरन्तर प्रयासमार्फत व्यावसायिक साम्राज्य निर्माण गर्ने एक उद्यमीको कथा हो।
बाल्यकालमा युन नाम भएका ज्याक माको जन्म १० सेप्टेम्बर १९६४ मा चीनको हाङचौमा गरिब परिवारमा भएको थियो। जन्मिएका थिए। बाल्यकालमै ज्याक माको रुचि अंग्रेजी भाषातर्फ तानियो। हाङचौ इन्टरनेसनल होटलमा आउने विदेशी पर्यटकसँग कुराकानी गर्दै उनले अंग्रेजी सिक्न थाले। १२ वर्षको उमेरमा उनले नियमित रूपमा अंग्रेजी रेडियो कार्यक्रम सुन्न एउटा सानो रेडियो किनेका थिए। तर भाषा सिक्ने उनको भोक त्यतिमै रोकिएन।
करिब नौ वर्षसम्म उनी हरेक दिन २७ किलोमिटर साइकल चलाएर विदेशी पर्यटकलाई हाङचौ घुमाउन जान्थे। उद्देश्य पैसा कमाउनु मात्र थिएन-अंग्रेजी बोल्ने अभ्यास गर्नु थियो। तीमध्ये एक विदेशी पर्यटकसँग उनको पत्राचारसमेत सुरु भयो। मा युन उच्चारण गर्न ती पर्यटकलाई कठिन लागेपछि उनले उनलाई ‘ज्याक’ नाम दिए। यही नाम पछि संसारभर परिचित भएको हो।
ज्याक माको विद्यार्थी जीवन सहज थिएन। १३ वर्षको उमेरमै झगडामा संलग्न भइरहँदा उनलाई हाङचौ नम्बर ८ माध्यमिक विद्यालयमा स्थानान्तरण गर्नुपर्यो। पढाइमा पनि उनी अब्बल थिएनन्। उच्च माध्यमिक विद्यालयको प्रवेश परीक्षामा गणितमा ३१ अंक मात्र आएपछि सामान्य विद्यालयमा भर्ना हुन उनलाई दुई वर्ष लाग्यो। तर कमजोर अंक र कठिन सुरुवातले उनको जिज्ञासा र सिक्ने हुटहुटी रोक्न सकेन।
कक्षाकोठामा कमजोर ठहरिएका त्यही विद्यार्थीले पछि भाषालाई आफ्नो शक्ति र असफलतालाई प्रेरणामा बदल्दै विश्वकै सफल उद्यमीमध्ये एक बने। ज्याक माको जीवन उतारचढावले भरिएको छ-र उनको सफलता त्यति नै अप्रत्याशित छ।
विश्वविद्यालय प्रवेश परीक्षामा असफल। जागिरका लागि दर्जनौँ आवेदन हालेपनि बारम्बार अस्वीकृत हुने ज्याकमाको नियती थियो। जागीरका लागि केएफसीमा २४ जनाले आवेदन दिँदा २३ जना छनोट हुँदा एक जना मात्र अस्वीकृत हुने संयोगमा समेत परेका थिए ज्याक मा। सामन्य जागीरकै लागि भैतारिरहेका उनलाई कम्प्युटर प्रोग्रामिङको कुनै ज्ञान थिएन। इन्टरनेटबारे त थाहै थिएन। जागिरका लागि ३० पटकभन्दापनि पटक अस्वीकृत भएपनि उनले सामन्य अंग्रेजी शिक्षकको जागिर पाएका थिए।
एकपछि अर्को असफलताको हण्डन ठक्कर खाएपनि ज्याक मासँग एउटा असाधारण क्षमता थियो- अरूले नदेखेको अवसर देख्ने। यही ठाउँमा ज्याक माको उद्यमशीलता परम्परागत सफलताको कथाभन्दा फरक देखिन्छ। चीनको हाङझाउका विदेशी पर्यटकसँग अंग्रेजी सिक्ने किशोरदेखि विश्वकै चर्चित ई-कमर्स कम्पनी अलिबाबाका संस्थापकसम्मको सफताको यात्रा यही क्षमताको कथा हो।

ज्याक माले सफलता खोज्दै हिँड्दा सफलता पाएनन्। उनले समस्या खोजे। र समस्या भेटिएपछि त्यसको समाधानमा व्यवसाय देखे। ईश्वरले हरेक मानिसलाई कुनै न कुनै विशिष्ट क्षमताको वरदान दिन्छन् भनेजस्तै ज्याकमाले विदेशी पर्यटकसँग कुराकानी गर्दा गर्दै सिकेको अंग्रेजी भाषाको अनुभवले उनलाई एउटा महत्वपूर्ण कुरा सिकाएको थियो-ज्ञान सधैँ कक्षाकोठामा मात्र सीमित हुँदैन; अवसर खोज्ने हो भने सडक पनि विश्वविद्यालय बन्न सक्छ। अंग्रेजी भाषामा हासिल गरेको यही सीप पछि उनको व्यावसायिक यात्राको अमूल्य सम्पत्ति बन्यो।
उनले हरेक ‘नाइँ’पछि अर्को प्रश्न सोध्थे – अब के गर्ने? यही प्रश्नले उनलाई शिक्षकबाट उद्यमीतर्फ लग्यो। यही प्रश्नले पहिलो असफल व्यवसायपछि दोस्रो अवसर खोज्न लगायो। र यही प्रश्नले इन्टरनेटलाई प्रविधि होइन, व्यापारको नयाँ पूर्वाधारका रूपमा हेर्न सिकायो।
ज्याक माको जीवनको सबैभन्दा ठूलो प्रतिस्पर्धा अरू उद्यमीसँग थिएन। त्यो उनको आफ्नै असफलतासँग थियो। जब कसैले उनलाई ‘तिमी योग्य छैनौ’ भन्यो, उनले आफूलाई प्रमाणित गर्ने अर्को अवसर खोजे। जब लगानीकर्ताले विचार अस्वीकार गरे, उनले विचारलाई अर्को तरिकाले प्रस्तुत गरे।
जब पहिलो व्यवसाय असफल भयो, उनले अर्को व्यवसायको सम्भावना खोजे। यस अर्थमा ज्याक माको सफलता एक ठूलो छलाङको परिणाम होइन। यो साना–साना असफलतामाथि लगातार चढ्दै बनाइएको यात्रा हो।
चाइना पेजेसको असफलदेखि अलिबाबासम्म
सन् १९९५ मा ज्याक मा पहिलोपटक अमेरिका पुगेका थिए। त्यही यात्राका क्रममा उनले पहिलोपटक इन्टरनेट चलाउने अवसर पाए। कम्प्युटरको कुनै पूर्वअनुभव नभए पनि इन्टरनेटप्रति उनी निकै उत्साहित भए। जिज्ञासावश उनले इन्टरनेटमा पहिलो खोज ‘बियर’शब्दबाट गरे। विभिन्न देशका बियरको जानकारी भेटिए पनि चिनियाँ बियरको कुनै परिणाम नआएपछि माको दिमागमा नयाँ विचार आयो-चीनलाई केन्द्रमा राखेर इन्टरनेट कम्पनी किन नबनाउने? यही सामान्य खोजबाट उनको इन्टरनेट व्यवसायतर्फको यात्रा सुरु भयो।
अमेरिका भ्रमणकै क्रममा उनले एउटा साधारण कुरा महसुस गरे-विश्वभरका सूचना इन्टरनेटमा थिए, तर चीनबारे पर्याप्त जानकारी थिएन। यही प्रश्नले उनलाई इन्टरनेट व्यवसायको सम्भावनातर्फ धकेल्यो। ज्याक माको पहिलो उद्यम असफलतामा टुंगियो तर उनले हिम्मत हारेनन।
हाङचौस्थित आफ्नै अपार्टमेन्टबाट डायल–अप इन्टरनेटमा चलाइएको ‘चाइना पेजेस’ वेबसाइटको एउटा पृष्ठ खुल्न साढे तीन घण्टासम्म लाग्थ्यो। माको मजाक थियो-पृष्ठ खुल्ने प्रतीक्षामा केही चरण पोकर खेलिसक्न सकिन्थ्यो।
वेबसाइटबाट आम्दानी गर्ने स्पष्ट मोडल नहुँदा पैसा छिट्टै सकियो। त्यसपछि मा चीनको वैदेशिक व्यापार तथा आर्थिक सहयोग मन्त्रालयमा जागिरमा गए। तर उद्यमशीलताको उनको महत्वाकांक्षा रोकिएन।
चार वर्षपछि, फेब्रुअरी १९९९ मा, उनले १८ जना साथीबाट ६० हजार अमेरिकी डलर जुटाएर साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै नयाँ ई–कमर्स कम्पनी सुरु गरे। हाङचौस्थित आफ्नै अपार्टमेन्टमा भएको प्रारम्भिक बैठकमा उनले इन्टरनेटमार्फत झेजियाङका लाखौँ साना व्यवसायलाई जोड्ने सपना सुनाए।
नयाँ कम्पनीको नाम उनले ‘अलिबाबा’ राखे। ‘वान थाउजेन्ट एण्ड वान नाइट्स’ को ‘अली बाबा’ कथाबाट प्रभावित मा इन्टरनेटलाई लुकेको खजानासँग तुलना गर्थे। उनका लागि ‘अलिबाबा’ त्यो जादुई ढोका थियो, जसले साना व्यवसायलाई ठूलो बजारसम्म पुर्याउन सक्थ्यो।
तर जादुई ढोकामा ग्राहकको भीड लागेन। झेजियाङका अधिकांश साना व्यवसाय पारिवारिक पसल थिए। धेरै व्यवसायीलाई इन्टरनेटबारे सामान्य ज्ञानसमेत थिएन। त्यसैले माले ग्राहक आफैँ आउने प्रतीक्षा गरेनन्। उनले कर्मचारीलाई घरदैलोमा पठाए। अलिबाबाले इन्टरनेट जडानदेखि वेबसाइटमा व्यवसाय दर्तासम्मका सेवा उपलब्ध गरायो।

तर अर्को ठूलो समस्या थियो-विश्वासको अभाव। त्यतिबेला चीनमा व्यवसायको विश्वसनीयता जाँच्ने प्रभावकारी क्रेडिट प्रणाली थिएन। अनलाइन कारोबारमा ठगीको जोखिम उच्च थियो। यही समस्यालाई समाधान गर्न माको टोलीले ‘ट्रस्टपास’ प्रणाली विकास गर्यो। सानो शुल्क लिएर अलिबाबाले तेस्रो पक्षमार्फत व्यवसायको लाइसेन्स, भौतिक ठेगाना र बैंक खातालगायत विवरण प्रमाणीकरण गर्न थाल्यो।
यो प्रणाली केवल अलिबाबाका लागि होइन, चीनको उदीयमान ई–कमर्स क्षेत्रकै लागि महत्वपूर्ण पूर्वाधार बन्यो। माको सुरुवाती यात्रा उनका लागि महत्वपूर्ण एउटा महत्वपूर्ण पाठ थियो-प्रविधि आफैँ पर्याप्त हुँदैन। बजारलाई शिक्षित गर्नुपर्छ, ग्राहकको समस्या बुझ्नुपर्छ र सबैभन्दा पहिले विश्वास निर्माण गर्नुपर्छ।
शुरुवातीबेला अलिबाब सफल हुनेमा कसैलाई विश्वास थिएन। तर कम्पनी छोटो समयमै सफलताको सिँढी उक्लन थाल्यो। अलिबाबाको वास्तविक क्रान्ति पैसामा थिएन। त्यो व्यवसाय गर्ने तरिका बदल्ने विचारमा थियो। ठूला कम्पनीसँग पहुँच नभएका साना व्यापारीलाई डिजिटल बजारमा ल्याउने। ग्राहक र विक्रेताबीचको दूरी घटाउने। अनलाइन कारोबारमा विश्वास निर्माण गर्ने।
ई–कमर्ससँगै भुक्तानी, लजिस्टिक्स र डिजिटल सेवाको इकोसिस्टम बनाउने। अर्थात् ज्याक मा एउटा वेबसाइट बनाइरहेका थिएनन्। उनी नयाँ बजार बनाइरहेका थिए।
सानो व्यवसाय, ठूलो बजार
अलिबाबाको प्रारम्भिक उद्देश्य आफैं ठूलो कम्पनी बन्नु थिएन। उसको केन्द्रमा थिए-साना व्यवसाय। परम्परागत बजारमा सानो व्यवसायको सबैभन्दा ठूलो समस्या थियो-पहुँच। उत्पादन थियो, तर ग्राहक कहाँ? क्षमता थियो, तर अन्तर्राष्ट्रिय बजार कसरी पुग्ने? ज्याकले इन्टरनेटलाई यही समस्याको उत्तरका रूपमा देखे।
अलिबाबाको बी टु बी मोडलले चिनियाँ साना तथा मझौला कम्पनीलाई अन्य व्यवसाय र निर्यात बजारसँग जोड्ने काम गर्यो। त्यसपछि ताओबाओ ले व्यक्तिगत विक्रेता र उपभोक्तालाई डिजिटल बजारमा ल्यायो। टिमल ले ठूला ब्रान्डलाई नयाँ उपभोक्ता बजारसँग जोड्यो।
यो विस्तार केवल व्यवसाय विस्तार थिएन। यो बजारको लोकतन्त्रीकरण थियो। जसको आफ्नै पसल खोल्ने क्षमता थिएन, उसले अनलाइन पसल खोल्न पायो। जसको अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच थिएन, उसले डिजिटल माध्यमबाट ग्राहक भेट्न थाल्यो। जसले परम्परागत व्यापारिक सञ्जालमा प्रवेश पाउन सक्दैनथ्यो, उसले नयाँ डिजिटल सञ्जाल पायो।
अलिबाबाको सबैभन्दा ठूलो उपलब्धि कुनै एउटा वेबसाइट वा एप होइन। त्यो थियो-इकोसिस्टम। ई–कमर्सपछि डिजिटल भुक्तानी आयो। त्यसपछि लजिस्टिक्स, क्लाउड कम्प्युटिङ र अन्य डिजिटल सेवाको विस्तार भयो। यसले ज्याक माको व्यवसायिक सोच स्पष्ट पार्छ। एक सफल कम्पनीले एउटा उत्पादन बेच्न सक्छ। तर ठूलो कम्पनीले पूरै बजारको संरचना बदल्न सक्छ। अलिबाबाले यही गर्यो।
सपना देखाउने नेतृत्व
ज्याक मा कोड लेख्दैनथे। तर कोड लेख्ने मानिसलाई एउटै दिशामा हिँडाउन सक्थे। उनी वित्तीय विशेषज्ञ थिएनन्। तर लगानीकर्तालाई आफ्नो दृष्टिमा विश्वास दिलाउन सक्थे। पढाइमा असाधारण विद्यार्थी पनि थिएनन्। तर हजारौँ कर्मचारी र लाखौँ व्यवसायलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने कम्पनी बनाए। उनको शक्ति प्रविधि होइन, मानिसलाई प्रभावित गर्ने सञ्चार र नेतृत्व थियो।
ज्याक माको त्यो शक्ति बाल्यकालमै बनेको थियो। विदेशी पर्यटकसँग अंग्रेजी सिक्दै उनले भाषा मात्र सिकेनन्, फरक सोच र संस्कृतिलाई बुझ्ने अवसर पाए। पछि अंग्रेजी शिक्षक हुँदा उनले मानिसलाई प्रेरित गर्ने, विश्वास दिलाउने र अघि बढाउने कला सिके। अलिबाबामा यही सीप उनको नेतृत्वको आधार बन्यो-ठूलो सपना देखाउने, त्यसलाई सरल भाषामा बुझाउने र टोलीलाई त्यस सपनाको हिस्सेदार बनाउने। उनी आदेश दिने सीईओभन्दा ऊर्जा पैदा गर्ने नेता थिए।
माको नेतृत्वको केन्द्रमा ग्राहक थिए। उनी प्रविधिलाई इन्जिनियरको आँखाले होइन, सामान्य ग्राहकको आँखाले हेर्थे। लगानीकर्ता र प्रतिस्पर्धीको पछि दौडिनुभन्दा ग्राहक, कर्मचारी र आफ्नै टोलीमा ध्यान दिनुपर्ने उनको मान्यता थियो। उनको नजरमा कम्पनीको सफलता शेयर मूल्यमा मात्र होइन, ग्राहकको समस्या समाधान गर्ने क्षमता र साना व्यवसायलाई अवसर दिने प्रभावमा मापन हुन्थ्यो। यही सोचले अलिबाबालाई उत्पादन बेच्ने कम्पनीभन्दा व्यवसाय जोड्ने प्लेटफर्म बनायो।
उनी विश्वव्यापी सोच्थे, तर स्थानीय यथार्थ बिर्सँदैनथे। चीनका साना व्यवसायको समस्या समाधान गर्ने ठाउँबाट सुरु भएको अलिबाबालाई उनले सीमाविहीन डिजिटल बजारको सम्भावनासँग जोडे। स्थानीय समस्याबाट सुरु गरेर विश्वव्यापी अवसर खोज्नु उनको रणनीतिक सोचको विशेषता थियो। यही कारण उनले प्रविधिलाई आफैँमा लक्ष्य होइन, मानिस र व्यवसायका लागि अवसर सिर्जना गर्ने साधनका रूपमा हेरे।
माको अर्को शक्ति थियो सशक्तीकरण। कर्मचारीलाई निर्देशन पालना गर्ने जनशक्ति होइन, कम्पनीको भविष्य निर्माण गर्ने साझेदारका रूपमा हेर्थे। सुरुवाती कर्मचारीलाई सेयर विकल्प दिनु यसको उदाहरण थियो। उनले कागजमा उत्कृष्ट देखिने अनुभवी व्यवस्थापकभन्दा उत्साही, जिज्ञासु, परिवर्तनसँग अनुकूल हुन सक्ने र उद्देश्यप्रति प्रतिबद्ध मानिस रोजे। उनका लागि बलियो कम्पनी एक जना प्रतिभाशाली सीईओले होइन, उद्देश्यमा विश्वास गर्ने बलियो टोलीले बनाउँछ।

तर माको नेतृत्व केवल ठूलो सपना र व्यापारिक आक्रामकतामा सीमित थिएन। ग्राहक पहिलो, टोली भावना, परिवर्तनलाई अँगाल्ने, इमानदारी, जोश र प्रतिबद्धता अलिबाबाका मूल मूल्य बने। उनले व्यवसायलाई नाफा कमाउने माध्यम मात्र मानेनन्; रोजगारी, अवसर र सामाजिक परिवर्तनसँग जोडेर हेरे। घुस दिनुभन्दा कम्पनी बन्द गर्न तयार हुने उनको भनाइले व्यापारमा नैतिकताको सीमासमेत स्पष्ट पार्थ्यो।
उनको व्यक्तित्व पनि नेतृत्वको एउटा औजार थियो। औपचारिक र दूरी कायम गर्ने सीईओभन्दा उनी सहज, हास्यप्रिय र खुला थिए। कर्मचारीसँग रमाइलो गर्ने, प्रतिभा प्रदर्शनमा सहभागी हुने र आफ्ना मानिसलाई खुलेर बोल्न दिने उनको शैलीले पद र कर्मचारीबीचको दूरी घटायो। ताई ची र मार्सल आर्ट्सप्रतिको रुचिले उनको नेतृत्वमा अनुशासन, सन्तुलन र निरन्तर अभ्यासको अर्को तह थप्यो। उनी ‘एक व्यक्तिको शो’ मा होइन, नेतृत्व बाँड्ने संस्कृतिमा विश्वास गर्थे।
अन्ततः ज्याक माको असली प्रतिस्पर्धात्मक लाभ प्रविधि, पूँजी वा व्यक्तिगत प्रतिभा थिएन। उनी मानिसलाई एउटै सपना देखाउन सक्थे। आफूले नजाने कुरा स्वीकार्ने, आफूभन्दा सक्षम मानिसलाई साथमा ल्याउने, ग्राहकको आँखाबाट सोच्ने, ठूलो उद्देश्य तय गर्ने र त्यसलाई संस्थाको संस्कृतिमा बदल्ने उनको क्षमता नै उनको नेतृत्वको सार थियो। त्यसैले माको कथा केवल अलिबाबाको सफलताको कथा होइन; कम जान्ने मानिसले पनि सही मानिसलाई सही दिशामा हिँडाउन सके कति ठूलो संस्था बनाउन सक्छ भन्ने नेतृत्वको पाठ हो।
चीनबाट विश्वसम्म
अलिबाबाको विस्तारसँगै ज्याक माको प्रभाव चीनबाहिर पुग्यो। कम्पनीले विश्वव्यापी ब्रान्ड, प्रविधि, वित्तीय सेवा, क्लाउड कम्प्युटिङ, मनोरञ्जन, खेलकुद र स्वास्थ्यजस्ता क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्यो। चीनको बढ्दो मध्यमवर्गीय बजारले पनि यसको विकासलाई ठूलो आधार दियो। तर ज्याक माको दृष्टि सधैं एउटै कुरामा फर्किन्थ्यो –
मानिस र व्यवसायलाई जोड्ने। पहिले विदेशी पर्यटक र आफूबीच। पछि चिनियाँ कम्पनी र विश्व बजारबीच। त्यसपछि विक्रेता र ग्राहकबीच। अन्ततः प्रविधि र अर्थतन्त्रबीच। असफल भइरहे पनि अगाडि बढिरहे।
ज्याक मा व्यापारिक मञ्चमा मात्र सीमित रहने उद्यमी होइनन्; उनी आफ्नो रंगीन व्यक्तित्व र सार्वजनिक उपस्थितिका लागि पनि उत्तिकै चर्चित छन्। सन् २०१७ मा अलिबाबाको वार्षिकोत्सवमा उनले माइकल ज्याक्सनबाट प्रेरित ‘थ्रिलर’ प्रस्तुति दिएर कर्मचारीलाई चकित पारे।
त्यसको केही समयपछि उनले कुंगफु लघुफिल्म ‘गोंग शोउ दाओ’ मार्फत अभिनयमा समेत डेब्यु गरे, जहाँ उनले मार्सल आर्ट्सका स्टार जेट लीसँग पर्दा बाँडे। मार्सल आर्ट्सप्रतिको उनको रुचि भने नयाँ होइन—तीन दशकभन्दा बढी समयदेखि उनी ताई ची अभ्यास गर्दै आएका छन्।
व्यबसायबाट परोपकारतिर
१० सेप्टेम्बर २०१९ मा आफ्नो ५५औँ जन्मदिनका दिन ज्याक माले अलिबाबाको नेतृत्वबाट औपचारिक रूपमा बिदा लिए। यससँगै उनी चीनको इन्टरनेट उद्योगमा उदाएका प्रभावशाली उद्यमीहरूको पुस्तामध्ये आफ्नै कम्पनीको नेतृत्वबाट अवकाश लिने पहिलो प्रमुख संस्थापक बने। ज्याक माको उत्तराधिकार योजना कुनै आकस्मिक निर्णय थिएन।
अलिबाबाबाट आफ्नो क्रमिक बहिर्गमनको तयारी उनले एक दशकअघि नै सुरु गरेका थिए। सन् २०१३ मा सीईओ पद छाडेर अध्यक्ष बनेसँगै उनले कम्पनीको दैनिक सञ्चालनबाट दूरी बनाउन थाले। उनको नयाँ प्राथमिकता थियो-परोपकार, विशेषतः शिक्षा। ज्याक मा फाउन्डेसनमार्फत उनले ग्रामीण चीनको शिक्षामा लगानी बढाए र १० वर्षे शैक्षिक पहलका लागि ३ करोड डलर सहयोग गर्ने प्रतिबद्धता जनाए।
अलिबाबा पार्टनरसिपका संस्थापक साझेदारका रूपमा जोडिइरहे पनि माको नजर अब उनले आफूलाई सबैभन्दा बढी मन पर्ने क्षेत्रमा फर्कनेमा छ-शिक्षा। उनको यो यात्रा एउटा सफल उद्यमीले कम्पनी निर्माणपछि अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै आफ्नो प्रभावलाई व्यवसायभन्दा बाहिर विस्तार गरेको उदाहरण हो।

हाङझाउको एउटा साधारण परिवारबाट सुरु भएको यात्रा, विदेशी पर्यटकसँग अंग्रेजी सिक्ने बालक, जागिरबाट अस्वीकृत युवा, सामान्य अंग्रेजी शिक्षक, असफल इन्टरनेट व्यवसायी र अन्ततः अलिबाबाका संस्थापक – यी सबै एउटै मानिसका फरक चरण हुन्। र उनको यात्राको सबैभन्दा ठूलो व्यावसायिक पाठ शायद यति नै हो – बजारले तपाईंलाई आज ‘नाइँ’ भन्न सक्छ। तर त्यसले तपाईंको भोलिको सम्भावना तय गर्दैन।
ज्याक माले ‘नाइँ’लाई स्वीकार गरेनन्। उनले त्यसलाई अर्को प्रश्नमा बदले। र त्यही प्रश्नबाट आज उनले एउटा व्यबसायीक साम्राज्य जमाएका छन्। ज्याक माको सफलताको एउटा महत्वपूर्ण रहस्य प्रविधि होइन, मानिसलाई बुझ्ने क्षमता थियो। उनले एक कार्यक्रममा भनेका थिए, “मलाई प्रविधिबारे केही थाहा छैन, मार्केटिङबारे केही थाहा छैन, कानुनी विषयबारे पनि केही थाहा छैन। मलाई मानिसबारे मात्र थाहा छ।”
अंग्रेजी शिक्षकका रूपमा काम गर्दा उनले मानिसलाई प्रेरित गर्ने, उत्साहित बनाउने र आफ्नो क्षमतामा विश्वास दिलाउने कला सिकेका थिए। अलिबाबा स्थापना गरेपछि उनले यही सीप आफ्नो टोली निर्माण र नेतृत्वमा प्रयोग गरे। माको ध्यान प्रतिस्पर्धी वा लगानीकर्ताभन्दा ग्राहक र आफ्नै मानिसमा केन्द्रित रह्यो। उनको मान्यता थियो-ग्राहक खुसी छन् र आफ्नो टोली पनि खुसी भएर काम गरिरहेको छ भने व्यवसायले जित्छ।
“लगानीकर्तालाई खुसी बनाउन होइन, ग्राहक र आफ्ना मानिसलाई खुसी बनाउन समय खर्च गर्नुपर्छ,” भन्ने उनको दर्शन थियो। लगानीकर्ता कठिन समयमा साथ छाड्न सक्ने भए पनि बलियो टोली र सन्तुष्ट ग्राहक नै व्यवसायको वास्तविक आधार हुने उनको विश्वास थियो। अभावबाट उठेर सफलतामा उक्लीएकाले उनी भन्छन् “जीवनमा कम्तीमा एकपटक केही नयाँ प्रयास गर्नुहोस्। कुनै काममा मेहनत गर्नुहोस् र परिवर्तन ल्याउने प्रयास गर्नुहोस्। यसबाट नराम्रो केही हुँदैन।”
