मुगु । मुगुका किसान यस वर्ष सिमी खेतीबाट निराश भएका छन् । खेतबारीमा लगाएको सिमीका बोटमा कोसा नलागेपछि उत्पादन घटेको छ । यसले स्थानीय किसानको भान्सादेखि आम्दानीसम्म प्रभावित बनाएको छ ।
छायाँनाथ रारा नगरपालिका–६ कोटिल्लाका कृषक हरिकृष्ण ऐडीले यस वर्ष सिमी खेतीमा गरेको मेहनतअनुसार प्रतिफल नपाएको बताए । बोट राम्ररी हुर्किए पनि फल नलाग्दा उत्पादन घटेको उनको भनाइ छ ।
नगरपालिका–७ टोप्लाका कृषक पर्वुजङ्ग शाहीको समस्या पनि उस्तै छ । सिमीका बोटमा कोसा नलागेपछि वर्षभरि गरेको परिश्रम खेर गएको उनले बताए ।
यस्तै, नगरपालिका–३ हेर्निकाँदका शिक्षक रंगबहादुर कार्कीले पनि यस वर्ष सिमी उत्पादनमा कमी आएको जानकारी दिए ।
मुगुका उच्च पहाडी क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको सिमी स्थानीय बासिन्दाको खाद्यान्न र आयआर्जनको प्रमुख आधार हो । उत्पादित सिमी घरायसी उपभोगका साथै बजारमा बिक्रीसमेत गरिन्छ । तर यस वर्ष उत्पादन घटेपछि किसानले खाद्यान्नको जोहो गर्न र आम्दानी जुटाउन कठिनाइ भोग्नुपर्ने अवस्था आएको छ ।
