Logo

पूर्वमन्त्री कार्कीसहित तेह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा आयोगले बिहीबार कार्कीसमेतविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले कार्कीसहित १४ जनालाई प्रतिवादी बनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको दाबी आयोगको छ । आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबिच भएको खरिद सम्झौताको प्रावधान उल्लङ्घन गरी आर्थिक अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ ।

सम्झौतामा चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङले नै कर, महसुल तथा अन्य शुल्क तिर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि बदनियतपूर्वक कर छुट दिने गरी ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ गरेर राज्यको सार्वजनिक सम्पत्ति हिनामिना गरिएको आयोगले जनाएको छ । यस निर्णयबाट प्रतिवादीले आर्थिक लाभ लिएको पनि आयोगको आरोप छ ।

यस प्रकरणमा संलग्न भएको आरोपमा तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरेविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । त्यस्तै आयोगले चिनियाँ कम्पनी सिएएमसी तथा त्यसका अध्यक्ष वाङ वो र परियोजना व्यवस्थापक याङ झिग्याङलाई समेत मुद्दा चलाएको छ । यस अनियमिततामा संलग्न प्रतिवादी सबैलाई आयोगले तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।

यस विमानास्थल निर्माणमा अनियमितता भएको दाबीसहित आयोगले दायर गरेको यो तेस्रो मुद्दा हो । आयोगले यसअघि पहिलो पटक गत मङ्सिर २१ गते पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि गत चैत ८ गते दोस्रो मुद्दा दायर गरेको थियो ।