काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद तथा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेको बताए। सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन्।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव, खाद्यवस्तुको बढ्दो मूल्य र विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे।
सांसद पदमबहादुर परियारले दलित समुदायमाथिको विभेद अझै अन्त्य हुन नसकेको बताए। सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।
यस्तै, सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गरिन्। सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राखिन्।
