एजेन्सी । इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गबारे भएको प्राविधिक समझदारीलाई हर्मुज जलघाँटी पुनः सञ्चालनसँग जोडेर गरिएको व्याख्या अस्वीकार गरेको छ। इरानले जलघाँटी अझै बन्द रहेको र त्यसलाई खोल्ने निर्णय पूर्ण रूपमा छुट्टै विषय भएको स्पष्ट पारेको हो।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक तयारी मात्र भएको बताए। उनका अनुसार यसलाई हर्मुज जलघाँटी खोल्ने निर्णयका रूपमा बुझ्न मिल्दैन।
बाघाईले अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा इरानविरुद्ध जारी गतिविधिका कारण जलघाँटी बन्द रहेको दाबी गर्दै राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई आधार बनाएर मात्र आगामी निर्णय गरिने बताए। बाह्य दबाबले इरानको नीतिमा कुनै असर नपर्ने उनको भनाइ थियो।
उनका अनुसार सुरक्षित समुद्री मार्गसम्बन्धी इरान–ओमान वार्ता अप्रिल ८ को युद्धविराम समझदारीपछि सुरु भएको र जुन १८ को सहमतिपछि थप तीव्र बनेको हो। दुवै देशले पुरानो उत्तरी मार्ग र असुरक्षित दक्षिणी मार्गको विकल्पका रूपमा नयाँ ‘ट्राफिक सेपरेसन स्किम’ तयार गर्ने विषयमा छलफल गरिरहेका छन्।
बाघाईले मे ३० अघिको अवस्थामा हर्मुज जलघाँटी फर्काउने कुनै योजना नरहेको स्पष्ट पार्दै इरानको सार्वभौम अधिकारको पूर्ण सम्मान सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुन सक्ने बताए। उनले ओमानसँगको वार्ता विशुद्ध द्विपक्षीय विषय भएको र त्यसमा कुनै तेस्रो पक्षको भूमिका नरहेको पनि उल्लेख गरे।
यसैबीच, इरानले हालै अमेरिकी सैन्य आक्रमणको प्रसंग उठाउँदै केही देशलाई आफ्नो भूमि वा सैन्य सुविधा इरानविरुद्ध प्रयोग गर्न नदिन कूटनीतिक माध्यमबाट चेतावनी दिएको जनाएको छ। संयुक्त राष्ट्रसंघको आक्रमणसम्बन्धी प्रस्ताव उद्धृत गर्दै इरानले आवश्यक परे आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्ने चेतावनी पनि दिएको छ।
उता, इजरायली सञ्चारमाध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिकाबीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलघाँटी सञ्चालन गराउने प्रयास गरिरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान जलघाँटी खोल्न सहमत भएको दाबी गरेपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
