अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ । घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ ।
बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो । निकायले जहाजको नाम, झण्डा वा त्यसले बोकेको सामानबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
अल खसाब पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी नजिक अवस्थित छ । विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यो जलमार्ग रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ ।
फेब्रुअरीमा अमेरिका–इरान युद्ध सुरु भएयता इरानले जलमार्ग हुँदै हुने जहाज आवतजावतमा अवरोध पुर्याउँदै आएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राखेको छ । त्यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार प्रभावित हुँदै आएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गर्नुभयो । उहाँका अनुसार कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको हो । ट्रम्पले इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुवै पक्षबीच संवाद जारी रहेको बताउनुभयो ।
तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै वार्ता नरहेको स्पष्ट पार्दै तेहरानको संवाद केवल ओमानसँग भइरहेको र त्यसको केन्द्र हर्मुज जलघाँटीमा सुरक्षित जलयात्राको व्यवस्था रहेको बताउनुभयो ।
ट्रम्पले भने इरानले वार्ताको पहल आफैँ गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत तेहरानको सार्वजनिक अभिव्यक्तिलाई विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो । उहाँले इरानले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने प्रवृत्तिले भ्रम सिर्जना गरेको आरोप लगाउनुभयो ।
