Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

एआई अपनाउन ढिलाइ गरे विकासशील देश झन् पछाडि पर्ने विश्व बैंकको चेतावनी

अ+ अ-

विश्व बैंकले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अपनाउन ढिलाइ नगर्न चेतावनी दिएको छ। एआईलाई बेवास्ता गरे ती देश आर्थिक, सामाजिक र प्राविधिक विकासमा अझ पछाडि पर्ने जोखिम रहेको बैंकको निष्कर्ष छ।

विश्व बैंक समूहले सार्वजनिक गरेको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ मा एआईलाई विकासशील अर्थतन्त्रका लागि ‘जीवनरेखासरह अवसर’का रूपमा चित्रण गरिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले विकासशील देशले अत्याधुनिक र महँगा एआई प्रणाली होइन, आफ्नै आवश्यकता अनुसार कम लागतका एआई उपकरण विकास र प्रयोग गर्नुपर्ने बताए।

उनका अनुसार स्वास्थ्य, शिक्षा, कृषि र न्याय क्षेत्रजस्ता आधारभूत सेवामा स्थानीय आवश्यकता अनुरूप एआईको प्रयोग विस्तार गर्न सके विकासको गति उल्लेखनीय रूपमा बढाउन सकिन्छ।

विश्व बैंकले अहिलेका अधिकांश उन्नत एआई मोडेल अमेरिका र चीनमा विकसित भएको उल्लेख गर्दै ती प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर, उच्च कम्प्युटिङ क्षमता, अत्यधिक ऊर्जा र पानी आवश्यक पर्ने जनाएको छ। यसले जलवायु परिवर्तनमा समेत प्रभाव पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

बैंकका अनुसार विकासशील अर्थतन्त्र तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको चरणबाट गुज्रिरहेका छन्। यद्यपि, एआईको प्रभावकारी प्रयोग गर्न सके सन् २०२० को दशकको अन्त्यसम्म आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुग्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनले एआईमार्फत महँगो स्वास्थ्य, कानुनी, शैक्षिक र कृषि सेवा अर्बौं नागरिकसम्म सहज रूपमा पुर्‍याउन सकिने उल्लेख गरेको छ। बङ्गलादेशमा मधुमेह परीक्षण विस्तार र भारतमा मौसम पूर्वानुमानमार्फत किसानलाई सहयोग गरिएको उदाहरण पनि प्रस्तुत गरिएको छ।

विश्व बैंकले विकासशील देशलाई स्थानीय आवश्यकता अनुसार एआई समाधान विकास गर्न, विद्युत् उत्पादन र वितरणमा लगानी बढाउन, कम्प्युटिङ पूर्वाधार विस्तार गर्न तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढ बनाउन सुझाव दिएको छ।

प्रतिवेदन निर्देशक गौरव नायरले एआईलाई ‘जीवनमा एकपटक मात्र आउने अवसर’को संज्ञा दिँदै यसले दशकौँदेखि समाधान हुन नसकेका समस्याको निकास दिन सक्ने बताए।

प्रतिवेदनले विश्वका करिब ६ अर्ब ८० करोड अर्थात् ८३ प्रतिशत जनसंख्याको आवश्यकता अनुरूप एआई उपकरण विकास गर्नुपर्नेमा जोड दिएको छ। स्मार्टफोन नहुने समुदायका लागि सामान्य मोबाइल फोनमार्फत आवाजका आधारमा प्रयोग गर्न सकिने एआई समाधान विकास गर्न पनि सुझाव दिइएको छ।

विश्व बैंकले एआई विस्तारसँगै जोखिमतर्फ पनि सचेत गराएको छ। सरकारी निर्णयमा पूर्वाग्रह देखिनु, व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर हुनु, आर्थिक असमानता बढ्नु, बजार शक्ति सीमित संस्थामा केन्द्रित हुनु तथा सार्वजनिक संस्थाप्रतिको विश्वास घट्नुजस्ता चुनौती देखिन सक्ने प्रतिवेदनमा उल्लेख छ।

रोजगारीमा तत्काल ठूलो असर नपर्ने भए पनि दीर्घकालमा मध्यमस्तरका केही रोजगारी विस्थापित हुन सक्ने चेतावनी पनि विश्व बैंकले दिएको छ।

विश्व बैंकका अनुसार उक्त प्रतिवेदन तयार गर्ने क्रममा ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको थियो।

2