काठमाडौं ।नेपाल टेलिकमले दूरसञ्चार सेवाको बक्यौता महसुल नतिरेका ग्राहकलाई जरिवानामा छुट दिने व्यवस्था लागू गरेको छ।
टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता २०८३ साल पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकबाट कुनै जरिवाना नलिइनेछ।
केन्द्रीय कार्यालयअन्तर्गतको केन्द्रीय राजस्व विभागले जारी गरेको सूचनामा उक्त सुविधा लिन इच्छुक ग्राहकलाई नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
टेलिकमले तोकिएको समयभित्र पनि बक्यौता नतिर्ने ग्राहकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै, बक्यौता नतिर्ने ग्राहकको नाम तथा विवरण कम्पनीको वेबसाइट र राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक गरी असुली प्रक्रिया अघि बढाइने जनाएको छ।

