Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

एलपी ग्यास अभावबीच प्रधानमन्त्री शाहको दाबी, सरकारी उद्योग सुधारोन्मुख

अ+ अ-

काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थान सुधारको दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा सरकारको कामकारबाही र बजारमा देखिएको ग्यास अभावबारे सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका हुन्।

सत्तारूढ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्यसम्पादनबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शाहले सरकार गठन भएदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त, सक्षम र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिइएको बताए।

वर्षौंदेखि बन्द रहेका, घाटामा रहेका र निराशाले घेरिएका राष्ट्रिय उद्योग पुनः आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने चिन्ता स्वाभाविक रहेको उल्लेख गर्दै उनले इमानदार प्रयास र स्पष्ट नियतका साथ अघि बढे चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ सम्भावना खोल्न सकिने दाबी गरेका छन्।

प्रधानमन्त्रीका अनुसार सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसको परिणामस्वरूप केही संस्थानमा सकारात्मक संकेत देखिन थालेको उनको भनाइ छ।

नेपाल औषधि लिमिटेड नाफामा गएको दाबी

प्रधानमन्त्री शाहले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको दाबी छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि उनले उल्लेख गरेका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनको भनाइ छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्रीले बताएका छन्।

तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादन हुन थालेको उनको भनाइ छ। परीक्षण उत्पादनको परिणामका आधारमा उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।

नेपाल एयरलाइन्सको आम्दानी बढेको दाबी

प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दाबी गरेका छन्।

उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्रीले बताएका छन्।

यस अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको पनि उनले उल्लेख गरेका छन्।

डीडीसीको बक्यौता घटेको दाबी

दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र ८ महिनाबाट घटाएर २ देखि ३ महिनामा झारिएको छ। यसअघि ७२ करोड रुपैयाँसम्म रहेको भुक्तानी दायित्व अहिले ३५ करोड रुपैयाँमा झरेको उनको दाबी छ।

किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले बताएका छन्। दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन अहिले ९० लाख रुपैयाँ पुगेको उनको वक्तव्यमा उल्लेख छ।

कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको पनि प्रधानमन्त्रीले बताएका छन्।

डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ।

वैद्यखानाको कारोबार चार गुणा बढेको दाबी

सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको प्रधानमन्त्रीले बताएका छन्।

गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५० प्रकार पुर्‍याउने लक्ष्य राखिएको उनले बताएका छन्। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको पनि उनले उल्लेख गरेका छन्।

चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ।

एलपी ग्यास अभावबारे भने मौन

पछिल्लो समय बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसकेको र उपभोक्ताले खाना पकाउने ग्यासका लागि कठिनाइ बेहोर्नुपरेको विषयलाई भने प्रधानमन्त्री शाहले आफ्नो वक्तव्यमा सम्बोधन गरेका छैनन्।

प्रतिनिधिसभामा सांसदहरूले सरकारको कामकारबाहीसँगै एलपी ग्यासको सहज आपूर्तिबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले सरकारी उद्योग तथा संस्थानमा भएका सुधारका प्रयास र सकारात्मक संकेतहरू प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्री शाहले शुक्रबार मध्यरातमा पनि सामाजिक सञ्जालमार्फत छोटो धारणा सार्वजनिक गर्दै ‘ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्’ भन्ने सन्देश दिएका थिए।

2