खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पंखी राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए।
विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्कनुभएका उहाँमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो।
विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलको फोटो तथा भिडियो कैद गर्न क्यामेरा र ट्राइपोटसहित बन्दोबस्तीका सामग्री बोकेर पंखी नेपालका कुना–कन्दराका नियमित यात्री बने। हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रको फोटो तथा भिडियो पंखीले आफ्नो (पंखी राई भ्लग तथा युट्युब)मा राखेका छन्।
पछिल्लो समय नेपालका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनमा दिलोज्यान दिएर लागेका उनले साउन २२ गते विराटनगरमा आयोजित कोसी प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा (ट्रेल विधा)को प्रथम उपाधि जितेका छन्।
कोसी प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा ३७ जना फोटोग्राफरलाई उछिन्दै उनले प्रथम उपाधि जिते। बिनातालिम गुगलका सामग्री अध्ययन गरेर फोटो तथा भिडियोग्राफर बनेका पंखीले कैद गरेका तस्बिरलाई प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगितामा ‘घाँसेमैदान र गोठालाको जीवनः मुन्दुम पदमार्गको जीवन्त कथा’ शीर्षक दिइएको थियो।
कोसी प्रदेशको उत्कृष्ट त्यो फोटो नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत मुन्दुम ट्रेल (पदमार्ग)को सालपा–सिलिचुङ क्षेत्रमा खिचिएको हो। विदेशबाट भाइले पठाइदिएको मोबोइलले खिचेको फोटोले प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिताको प्रथम उपाधि जिताएको उनले जानकारी दिए।
“मुन्दुम ट्रेल यात्राका क्रममा एउटा भाइले संरक्षित पोखरी नजिक भेडाको बथान चराउँदै थियो । मसँग भएको क्यामेराको ब्याट्री सकिएको थियो। संयोगवश मैले आइफोन बोकेको थिएँ ! त्यो मोबाइल फोन मेरो तुम्मा (ठूलीआमा)को छोरा आदित राई भाइले सिंगापुरबाट पठाइदिएको हो’, उनले भने, “अनि मैले फोटो खिच्छु है भनेर अनुमति लिएरै फोटो खिचेको थिएँ।
त्यतिबेला खिचेको फोटो प्रदेश उत्कृष्ट हुँदा खुसी लागेको छ। मोबाइल पठाइदिएकामा सिङ्गापुर पुलिसमा कार्यरत भाइ आदितलाई धेरै–धेरै धन्यवाद।’
विदेशबाट फर्किएपछि ९ वर्षदेखि फोटो तथा भिडियोग्राफीमा सक्रिय उनले प्रदेश उत्कृष्ट फोटोसँगै १०–१५ वटा फोटो इन्स्टाग्राममार्फत पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशमा पठाएका थिए। फोटो तथा भिडियोग्राफर पंखीले प्रदेश सरकारबाट प्राप्त उत्कृष्ट फोटोग्राफर उपाधिसँगै नगद ७० हजारसमेत प्राप्त गरे।
प्रदेश सरकारले प्रदान गरेको यो उपाधिसँगै फोटो तथा भिडियोग्राफीका क्षेत्रमा थप सक्रियताका साथ लाग्नुपर्ने महसुस भएको उनी बताउँछन्। प्रदेशस्तरीय फोटोग्राफी प्रतियोगिता जितेपछि उत्साहित बनेका उनले आफ्नो फोटोग्राफी व्यावसायिक नभई सोख भएको जानकारी दिए।
आफूमा इच्छा, धैर्यता र लगनशीलता भए नसोचेको सफलता मिल्दोरहेछ भन्ने सन्देश यसपटक आफूले पाएको फोटोग्राफर पङ्कीले बताए। नेपालको पर्यटन प्रवद्र्धनका लागि हिमाल, पहाड तथा तराईका विभिन्न स्थानमा डुलेर फोटो÷भिडियो सङ्कलन गरिरहेको उनले जानकारी दिए।
देश तथा विदेशमा रहेका पर्यटकलाई नदेखिएको तथा नपुगेको नेपालका पर्यटकीयस्थल देखाउने र पर्यटन प्रवद्र्धन गराउने उहाँको मुख्य ध्येय छ। पछिल्लो समय जिल्लामा उनीजस्तै अन्य युवाले पनि फोटो तथा भिडियोग्राफीमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिरहेका छन्।
कोसी पर्यटन वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष विभिन्न विद्यामा फोटोग्राफी प्रतियोगिता गर्दै आएको छ। प्रदेशभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्न मन्त्रालयले हरेक वर्ष फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै आएको प्रवक्ता अखिलेशकुमार गुप्ताले जानकारी दिए।–रासस
