काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या ८० लाख ११ हजार पुगेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ।
सेबोनले सार्वजनिक गरेको ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र २०८३’ अनुसार पछिल्ला वर्षहरूमा डिम्याटसँगै मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ।
आर्थिक वर्ष २०७७ को असार मसान्तसम्म करिब १७ लाख डिम्याट खाता रहेकोमा २०८१/८२ को असार मसान्तसम्म यो संख्या बढेर ६९ लाख ९७ हजार पुगेको थियो। एक वर्षमै १० लाखभन्दा बढी खाता थपिएसँगै २०८२/८३ को असार मसान्तमा डिम्याट खाताको संख्या ८० लाख ११ हजार पुगेको हो। यो कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी हो।
त्यस्तै, मेरो सेयर खाता पनि तीव्र रूपमा बढेको देखिन्छ। आर्थिक वर्ष २०७७ को असारमा करिब ७ लाख रहेको मेरो सेयर खाताको संख्या २०८२/८३ को असार मसान्तसम्म ७० लाख ८० हजारभन्दा बढी पुगेको छ। यो कुल जनसंख्याको करिब २३ प्रतिशत हो।
नेपालको प्राथमिक पुँजी बजारमा डिम्याटसँगै आस्वा तथा सी–आस्वा प्रणाली कार्यान्वयन भएपछि धितोपत्रमा आवेदन दिने प्रक्रिया थप सहज भएको थियो। विशेषगरी सार्वजनिक निष्कासन (आईपीओ) मा सर्वसाधारणको पहुँच बढेसँगै डिम्याट र मेरो सेयर खाता खोल्ने क्रम पनि तीव्र बनेको हो।
पछिल्ला वर्षमा डिम्याट तथा मेरो सेयर खाताको निरन्तर वृद्धिले नेपाली पुँजी बजारमा सर्वसाधारणको सहभागिता विस्तार हुँदै गएको देखाएको छ। प्राथमिक बजारमा लगानीकर्ताको पहुँच बढ्दै जाँदा धितोपत्र बजारप्रतिको आकर्षण पनि थप विस्तार भएको सेबोनको तथ्यांकले देखाउँछ।
