काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश अझै बुझ्न बाँकी रहेका शेयरधनी तथा हकवालालाई यथाशीघ्र सम्पर्क गरी रकम बुझ्न आग्रह गरेको छ।
बैंकले साविक युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका शेयरधनीमध्ये आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी रहेकालाई रकम बुझ्न आग्रह गरेको हो।
बैंकका अनुसार लामो समयदेखि कतिपय शेयरधनीको नाममा रहेको लाभांश वितरण हुन बाँकी छ। सम्बन्धित शेयरधनी वा हकवालाले आवश्यक कागजातसहित बैंकको शेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।
आर्थिक वर्ष २०७६/७७ सम्म वितरण हुन नसकेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको भए पनि सम्बन्धित शेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम दाबी गर्न सक्ने बैंकले जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ सम्मको नगद लाभांशसमेत बुझ्न बाँकी रहेका शेयरधनीलाई पनि रकम बुझिलिन बैंकले आग्रह गरेको छ।
बैंकले लामो समयदेखि नलिइएको लाभांश सम्बन्धित शेयरधनीकै हकमा सुरक्षित रहेको जनाएको छ। आवश्यक कागजातसहित शेयर रजिस्ट्रारको कार्यालयमा सम्पर्क गरी बाँकी लाभांश लिन बैंकले आग्रह गरेको हो।
