काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सुरक्षित ऐतिहासिक दस्तावेज नेपालको अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण र प्रवर्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले त्यहाँ सुरक्षित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेज भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ,’ उनले भने, ‘अध्येता, विद्यार्थी र इतिहासमा चासो राख्नेहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ । यसको संरक्षणमा सबैले काम गरौँ ।’
अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित संग्रहबारे जानकारी लिए । उनले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको विषयमा समेत कर्मचारीसँग जानकारी लिएका थिए ।
अर्थमन्त्रीलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले सीमित स्रोतसाधनका कारण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक दस्तावेजको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
उनले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखको संरक्षणमा कठिनाइ भइरहेको जानकारी दिइन् । स्रोत अभावकै कारण अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारी निकायलाई पर्याप्त जानकारी गराउन नसकिएको उनको भनाइ थियो ।
महानिर्देशक प्रधानांगले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख संरक्षणमा आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।
