काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ थियो। यसअनुसार नाफा १५.०२ प्रतिशतले घटेको हो।
नाफा घटे पनि कम्पनीको मुख्य व्यवसाय भने विस्तार भएको छ। गत आवमा नेपाल लाइफले ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा यस्तो आर्जन ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ थियो। एक वर्षमा खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको हो।
कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ। गत आवमा कम्पनीले ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवमा यस्तो भुक्तानी ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ थियो।
गत आवमा कम्पनीको कुल आम्दानी ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीले ६८ अर्ब ३० करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो।
यस्तै, कम्पनीको कुल खर्च गत आवमा ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कुल खर्च ६४ अर्ब २६ करोड ३३ लाख ५३ हजार रुपैयाँ रहेको थियो।
नेपाल लाइफको जीवन बीमा कोष भने थप बलियो बनेको छ। कम्पनीको जीवन बीमा कोष गत आवमा बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। जीवन बीमा कोषको आकार २.७३ खर्ब रुपैयाँ नाघेसँगै नेपाल लाइफको दीर्घकालीन वित्तीय आधार थप ठूलो बनेको छ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ कायम भएको छ।
समग्रमा हेर्दा नेपाल लाइफको नाफामा दबाब देखिए पनि बीमाशुल्क आर्जन, कुल आम्दानी र जीवन बीमा कोषको आकारमा भने वृद्धि भएको छ। दाबी भुक्तानी र कुल खर्च बढ्दा नाफा घटेको देखिन्छ। कम्पनीको अन्तिम वित्तीय अवस्था भने लेखापरीक्षणपछि सार्वजनिक हुने विवरणबाट थप स्पष्ट हुनेछ।
