दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउने पुल नयाँ ठेक्काबाट निर्माण हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानो ठेक्का तोडिसकिएकाले अब नयाँ प्रक्रियाबाट पुल निर्माण अघि बढ्ने बताएका छन्।
आँबुखैरेनीमा आयोजित भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्लेले लामो समयदेखि अल्झिएको पुल निर्माणलाई अब नयाँ ठेक्कामार्फत गति दिने बताए। उनले आफू सांसद हुँदा पनि घुमाउने पुल निर्माणका विषयमा पटकपटक आवाज उठाएको स्मरण गरे।
वाग्लेका अनुसार पुल निर्माणमा पटकपटक समस्या आउँदा कामले गति लिन सकेन। कहिले बाढीले पुलमा क्षति पुर्याउने र कहिले डिजाइन परिवर्तन गर्नुपर्ने अवस्थाले निर्माण प्रक्रिया लम्बिएको उनले बताए। अहिले भने पुरानो ठेक्का नै तोडिसकिएकाले नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउने बाटो खुलेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले पुल निर्माण सुरु गर्न पूर्वाधार विकासमन्त्रीसँग समेत छलफल गरिसकेको बताए। उनले घुमाउने पुलको काम अघि बढाउन आफूले स्पष्ट रूपमा आग्रह गरेको जानकारी दिए।
उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सार्वजनिक खरिदसम्बन्धी कानुनमै सुधारको प्रयास भइरहेको बताए। विकास आयोजनामा हुने ढिलाइ र गुणस्तरसम्बन्धी समस्या समाधान गर्न खरिद ऐन संशोधन गरिएको उनको भनाइ छ।
घुमाउने पुल आँबुखैरेनी र भरतपुरलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। पुल निर्माण सम्पन्न हुँदा दुई क्षेत्रबीचको आवागमन सहज हुनुका साथै स्थानीयस्तरको व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ।
भेटघाटका क्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकासका लागि आवश्यक बजेट विनियोजनमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए। उनले पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन प्रवद्र्धनलाई स्थानीय तहका प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरे।
लामो समयदेखि निर्माणमा अल्झिएको घुमाउने पुलको पुरानो ठेक्का तोडिएपछि अब नयाँ ठेक्का प्रक्रिया निर्णायक बन्ने देखिएको छ। अर्थमन्त्री वाग्लेले नयाँ ठेक्काबाट काम अघि बढाउने प्रतिबद्धता जनाए पनि निर्माणको समयसीमा र ठेक्का प्रक्रिया भने आगामी चरणमा टुंगिनेछ।
