काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार एक वर्षमा कम्पनीको खुद नाफा १९.४६ प्रतिशतले घटेको हो।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि दबाब परेको छ। अघिल्लो आवमा १६० रुपैयाँ ३८ पैसा रहेको प्रतिसेयर आम्दानी गत आवमा घटेर १२९ रुपैयाँ १८ पैसामा झरेको छ।
कम्पनीको नाफा घट्नुमा लगानी तथा अन्य क्षेत्रबाट हुने आम्दानीमा आएको गिरावटले समेत प्रभाव पारेको देखिन्छ। अघिल्लो आवमा ५९ करोड १८ लाख रुपैयाँ रहेको लगानी तथा अन्य क्षेत्रको आम्दानी गत आवमा २२ प्रतिशतले घटेर ४६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।
यसरी मुख्य आम्दानी स्रोतमा आएको कमीले कम्पनीको समग्र नाफामा दबाब परेको देखिन्छ। सरकारी स्वामित्वको बिमा कम्पनीका रूपमा रहेको राष्ट्रिय बिमा कम्पनीको पछिल्लो वित्तीय विवरणले आम्दानीको संरचना र लगानी प्रतिफलमा आएको उतारचढावको प्रभाव नाफामा परेको संकेत गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरण अपरिष्कृत भएकाले लेखापरीक्षणपछि वित्तीय अवस्थामा थप परिवर्तन हुन सक्नेछ।
