काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा नयाँ स्पिड टी४ सार्वजनिक गरेको छ। मोर्डन क्लासिक सिरिजअन्तर्गत आएको यो मोटरसाइकलसँगै नेपालमा ट्रायम्फको प्रिमियम रोडस्टर लाइनअप थप विस्तार भएको छ।
कम्पनीका अनुसार स्पिड टी४ को नेपाली बजार मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। क्लासिक रोडस्टर डिजाइन, सहज ह्यान्डलिङ र लो–स्पिड टर्कलाई प्राथमिकता दिइएको यो मोटरसाइकल नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
स्पिड टी४ मा ३४९ सीसी लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५०० आरपीएममा २ पीएस पावर र ५ हजार ५०० आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड गियरबक्ससँगै स्लिपर क्लच दिइएको छ।
सहरको नियमित आवतजावतदेखि हाइवे क्रुज र उकालो सडकमा समेत सहज प्रदर्शन दिने गरी मोटरसाइकल तयार गरिएको कम्पनीले जनाएको छ।
मोटरसाइकलमा ४३ एमएम फ्रन्ट फोर्क र एड्जस्ट गर्न मिल्ने रियर मोनोसक दिइएको छ। त्यस्तै, १७ इन्चका ह्विल, ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्कसँगै डुअल–च्यानल एबीएस उपलब्ध छ।
फिचरतर्फ स्पिड टी४ मा एलईडी लाइट, डे–टाइम रनिङ लाइट, स्लिपर क्लच र एनालग तथा डिजिटल डिस्प्लेको संयोजन गरिएको छ।
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गरिएको स्पिड टी४ ट्रायम्फको मोर्डन क्लासिक सिरिजमा थपिएको नयाँ विकल्प हो। यो मोटरसाइकल नेपालभर रहेका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
