काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्ने बताएका छन्। विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत रहेको पर्यटन क्षेत्रको विकासका लागि सरकारदेखि निजी क्षेत्रसम्म सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले पर्यटन उद्योगको विकासमा निजी क्षेत्रका व्यावसायिक संस्थाको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै नाट्टाजस्ता संस्थाले क्षेत्रको विकासका लागि थप योगदान गर्नुपर्नेमा जोड दिए।
सभामुख अर्यालले पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन बढाउन आवश्यक पूर्वाधार, सेवा र नीतिगत वातावरण निर्माण गर्नुपर्ने बताए। पर्यटन उद्योगलाई मुलुकको आर्थिक उन्नतिको आधारका रूपमा अघि बढाउन सरकारी निकाय र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विकासमा अझ प्रभावकारी र इमान्दार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। यी संस्थाले पर्यटन प्रवर्द्धन, पर्यटक आकर्षण र सेवा विस्तारमा आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर नीति, पूर्वाधार र संस्थागत सुधार अघि बढाउन सके मुलुकको आर्थिक गतिविधि थप चलायमान बनाउन सकिने बताए।
